
कञ्चनपुर: चैते धानखेती गर्ने किसानलाई कृष्णपुर नगरपालिकाले ८० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने काम अगाडि बढाएको छ । नगरपालिकाको कृषि विकास शाखाको आव २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार किसानलाई अनुदानमा चैते धानको बीउ उपलब्ध गराउन थालिएको हो ।

किसानको मागका आधारमा बीउ वितरण गरिने नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लाल बहादुर धामीले बताए । “धान उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि दुई वर्ष देखि निरन्तर रुपमा चैते धानको बीउ अनुदानमा वितरण गराउन थालेका छौँ”, उहाँले भन्नुभयो, “चैते धानखेती गर्ने किसानको संख्या बर्सेनि बढ्दो रुपमा रहेको छ ।”




उहाँका अनुसार नगरपालिकामा खेतीमा संलग्न किसानमध्ये ८० प्रतिशतले धानखेती गर्दै आएका छन् । त्यस मध्ये चैते धानखेती मात्रै गर्ने किसानको संख्या पाँच प्रतिशत रहेको छ । थोरै जग्गामा चैते धानखेती गर्ने किसान ८० बढी भएको जनाउँदै कृषि विकास शाखाका प्रमुख धामीले एक बिघाभन्दा बढी क्षेत्रफलमा चैते धानखेती गर्ने किसान ३० बढी रहेको बताए । गत वर्ष मात्रै नगरपालिकाले अनुदानमा बीउ उपलब्ध गराएर ४० बिघा जग्गामा २५ किसानले चैते धानखेती गरेको उनले बताए । बर्खे धान भन्दा चैते धानले बढी उत्पादन दिने भएकाले किसानले यसको खेतीलाई प्राथमिकतामा राख्न थालेकाले यस वर्ष पनि अनुदानको कार्यक्रम राखिएको उनले जानकारी दिए ।



































