
बैतडी: बैतडीमा सडक खन्ने क्रममा स्काभेटर माथिबाट पहिरो खस्दा चालक घाइते भएका छन् ।

मङ्गलबार दिउसो जिल्लाको सुर्नया गाउँपालिका वडा नं ८ साँफेबगर भन्ने स्थानमा सतबाँझ –श्रीभावर सडक अन्तर्गत डबल कटिङको काम गरिरहँदा सडकमाथिबाट खसेको पहिरोले बा ३ क १४८ नम्बरको स्काभेटर माथिबाट पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
स्काभेटर चालक डडेल्धुराको भागेश्वर गाउँपालिका ३ का २६ बर्षीय आनन्द गिरी घाइते भएका जनाइएको छ ।




जागृति मुनाल कन्सट्रक्सनको स्काभेटर पहिरोमा पुरिएको हो । घाइते भएका चालक गिरीलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।


































