
त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दैछ । त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुने छ ।

यस सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने अवस्था रहेको छ । नेपालले लगातार दुई खेलमा हार बेहोरेर दबाबमा आएको छ । नेपालले नामिबियाविरुद्धको खेल २० रनले हारेको थियो भने नेदरल्याण्डसविरुद्धको खेल २ रनले हारेको थियो ।
नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ । आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ ।




नेदरल्यान्ड्सले नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै शीर्षस्थानमा छ । नेपाललाई पहिलो खेलमा हराउन नामिबियाका जान निकोल लोफ्टी एटनले ३६ बलमा ८ छक्का र ११ चौकासहित १०१ रनको शतकीय इनिङ खेलेका थिए ।
नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, विवेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।



































