
इण्डियन प्रिमियर लिग (आईपीएल) को १७औं संकरण आजदेखि शुरु हुदै छ। उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिङ्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन्।

चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरू हुनेछ। चेन्नई आईपीएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो। अहिलेसम्म चेन्नईले ५ आईपीएल उपाधि जितेको छ । रोयल च्यालेन्जर्स बैंगलोरले भने अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन।
त्यसअघि चेन्नईस्थित एम. ए. चिदम्बरम क्रिकेट रंगशालामा प्रतियोगिताको भब्य उद्घाटन समारोह आयोजना गरिने छ । उद्घाटन समारोहमा बलिउडका चर्चित हस्तीहरुले पनि आफ्नो प्रस्तुति दिने समाचारमा जनाइएको छ ।




भारतमा हुने लोकसभा चुनावका कारण हाल आईपीएलको २१ खेलको तालिका मात्र सार्वजनिक गरिएको छ । हाल घोषणा गरिएको तालिका अनुसार, पहिलो चरणको अन्तिम खेल अप्रिल ७ तारिखमा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सबिच खेलिने छ ।
प्रतियोगिताका क्रममा कुल ७४ खेल खेलाइने छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १७औँ संस्करणका सबै खेल भारतमै खेलाइने दाबी गरेको छ । तर, लोकसभा निर्वाचनका कारण दोस्रो चरणको खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा खेलाइने विषयमा पनि छलफल भइरहेको समाचारमा जनाइएको छ ।


































