
दार्चुला जिल्लाको सदरमुकाम देखि उत्तर पूर्व मा श्रीशैल्य मल्लिकार्जुन धाम अवस्थित रहेको छ । श्रीशैल्य मल्लिकार्जुन धाम मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको मध्य भागमा अवस्थित रहेको छ । श्रीशैल्य मल्लिकार्जुन धाम हिन्दु सनातन धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो । यस पवित्र धामलाई राज्यका सात वटा पवित्र धाम मध्येको एक महत्त्वपूर्ण धामको रूपमा सूचीकृत गरिसकेको छ । यसलाई शिव भगवानको बाह्रौं ज्योतिर्लिंग मध्येको दोस्रो शिव ज्योतिर्लिँगको रूपमा लिने गरिन्छ । यो राज्यको एउटा महत्त्वपूर्ण सम्पदा हो ।


श्री शैल्य शिखर मल्लिकार्जुन पवित्र धाम धार्मिक एवं सांस्कृतिक रूपमा सम्पन्न र धनी रहेकोछ । प्राकृतिक र भौगोलिक रूपमा अत्यन्तै सुन्दर र आकर्षक रहेकोछ । ग्वानीको बजानीको माथिल्लो भाग, शिक्षर धुरा र न्वालपानी सम्मको क्षेत्र अति रमणीय, सुन्दर र आकर्षक रहेकोछ । घना र बाक्लो बनजंगल रहेको छ । विभिन्न किसिमका जंगली जीवजन्तुहरुको बासस्थानको रूपमा अवस्थित रहेकोछ । विभिन्न किसिमको जडीबुटी, चराचुरुङ्गीको आवाजले यो क्षेत्र थप शोभायमान रहेको छ ।

मालिकार्जुन गाउँपालिका अन्तर्गतको भू-बनोट हिमाल, पहाड र समथर गरि तीन किसिमको रहेको छ । त्यहीँ अनुसारको हावापानी पनि रहेको छ । त्यहीँ अनुसारको सामाजिक आर्थिक र सांस्कृतिक जनजीवन रहेको छ ।




श्री शैल्य शिखर मल्लिकार्जुनको वरिपरि बालिचन मन्दिर, लटिनाथ र कैलपाल देवताको मन्दिर, चाँडी लटिनाथको मन्दिर, भगवती माताको मन्दिर, हुनैनाथ मन्दिर, पौडी मन्दिर र उकु महल आदि जस्ता दर्जनौं देवी देवताका मन्दिरहरु रहेका छन । यी सम्पूर्णको केन्द्रमा श्री शैल्य शिखर मल्लिकार्जुन धाम रहेकोछ ।
यस शिखर धुरामा वर्षको २ पटक मेला लाग्ने गर्दछ । असार शुक्ल चतुर्दशी तिथिमा विशाल शिखर वा गात पुजन जात्रा हुने गर्दछ । अर्को कार्तिक तृतीया तिथिमा शिखर वा गात पुजन जात्रा लाग्ने गर्दछ । कार्तिक महिनामा मल्लिकार्जुन मन्दिरमा सुदूरपश्चिम क्षेत्रकै रात्रीकालीन विशाल जात्रा लाग्ने गर्दछ । नेपालकै सबैभन्दा विशाल गौरापर्व यहीँ मल्लिकार्जुन धाममा हुने गर्दछ । स्वदेशी तथा भारतका विभिन्न स्थानहरु बाट जात्रा मेला भर्नको लागि ठूलो संख्यामा भक्तजनहरु आउने गर्दछ । विधिवत् रूपमा पुजा आराधना गर्नाले मनोकामना पूर्ण हुने जनश्रूति रहिआएको छ ।
श्री शैल्य मल्लिकार्जुनको विकास, संरक्षण र सम्बर्द्धन गर्नको लागि मालिकार्जुन विकास समिति रहेको छ । राज्यले सातौं पवित्र धाम मध्येको एक धाम भनी नामाकरण गरे पनि पछिल्लो समय राजनीतिक खिचातानीको कारणले यसको विकास र विस्तारमा अवरोध सिर्जाना भएको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको योगदान प्रायः शून्य जस्तै रहेको छ । आन्तरिक श्रोत साधनको पनि सहि परिचालन र व्यवस्थापन गर्न नसक्दा बेला बेलामा विभिन्न समस्या सिर्जना हुने गरेको पाइन्छ ।
श्री शैल्य मल्लिकार्जुन धामलाई वास्तविक पर्यटन क्षेत्रको रूपमा विकास गर्न सक्ने हो भने धेरै लाभ लिन सकिने सम्भावना रहिआएको छ । रोजगारीका अनेकौं अवसर सिर्जना गर्न सकिने, विदेशी मुद्रा आर्जन गर्न सकिने, आन्तरिक उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने, स्थानीय उत्पादन, ज्ञान्, सीप, प्रविधि, संस्कृति, कलाको संरक्षण र प्रवर्द्धन गर्न सकिने, सेवा क्षेत्रको विकास र विस्तार गर्न सकिने, जीवनस्तरमा सुधार ल्याउन सकिने, गरिबी बेरोजगारी र असमानता जस्ता नकारात्मक पक्षहरुलाई कम गर्न सकिन्छ । मल्लिकार्जुनको वास्तविक पहिचान, महिमा र गौरवलाई विश्व सामु चिनाउन सकिन्छ । आर्थिक सामाजिक, सांस्कृतिक र ऐतिहासिक मूल्यमान्यताको विकास, विस्तार, संरक्षण र सम्बर्द्धन गर्न सकिन्छ । स्वरोजगारी र स्वावलम्बनको विकासमा जोड दिन सकिन्छ । स्थानीय जनताको आय आर्जन मा वृद्धि गर्न सकिन्छ । स्थानीय स्रोत साधनको सहि प्रयोग गर्न सकिन्छ ।

श्री शैल्य शिखर मल्लिकार्जुन मन्दिर क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास, विस्तार गर्ने अनेकौं सम्भावना रहेका छन । त्यसको वरिपरि अनेकौं देवीदेवताका मन्दिर रहेका छन । जसलाई धार्मिक सर्किटको रूपमा विकास गर्न सकिन्छ । प्राकृतिक, भौगोलिक र हावापानीको रूपमा अत्यन्तै सुन्दर आकर्षक रहेको छ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपमा सु-सम्पन्न रहेको छ । आर्थिक र सामाजिक रूपमा मध्यम किसिमको रहेको छ । त्यसैले यसलाई एउटा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने दर्जनौं आधारहरु रहेका छन । त्यसको विकासको लागि सबै सम्बद्ध सरोकारवाला संस्था, निकाय, व्यक्तिको पहल अनिवार्य रहेको छ । त्यसको उचित व्यवस्थापनमा ध्यान दिन सक्ने हो भने नेपालको एउटा महत्त्वपूर्ण प्राकृतिक, धार्मिक एवं सांस्कृतिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिनेछ ।
लेखक : विनोद सिंह धामी ( विन्दास)
शिक्षक



































