चिनियाँ पक्षको आमन्त्रणपछि दार्चुलाका व्यापारीको टोली ताक्लाकोट

Image
Nisarga Hospital

चिनियाँ पक्षको आमन्त्रणपछि दार्चुलाका व्यापारीको टोली (बुराङ काउन्टी) ताक्लाकोट पुगेका छन् । पहिलो चरणमा छाङ्गरु र तिंकरका २७ जना व्यापारीको टोली ताक्लाकोट पुगेको हो । नेपाल–चीन जोड्ने दार्चुलाको तिंकर नाका भएर उनीहरू त्यहाँ पुगेका हुन् ।

CP Hospital Dhangadhi

छाङ्गरुका १५ र तिंकरका १२ जनाको टोली ताक्लाकोट पुगेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । ‘हामीले चिनियाँ पक्षबाट माग भएअनुसार व्यापारीको सूची पठाएका थियौँ,’ उनले भने, ‘पहिलो चरणमा २७ जना व्यापारी ताक्लाकोट पुगेका छन् ।’

औपचारिक रूपमै कार्यक्रम गरेर दुवै पक्षका अधिकारीले नाका खोल्ने योजना असफल भएपछि अनौपचारिक रूपमै चिनियाँ पक्षको आग्रहमा व्यापारीहरूको टोली ताक्लाकोट गएको हो ।

nawajiwan

व्याँस गाउँपालिका– १ छांगरु तिंकरबाट हिँडेका व्यापारीहरू ताक्लाकोट पुगेको व्यापारी योगेश बोहराले जानकारी दिए । ‘चार वर्षदेखि बन्द रहेको तिंकर नाका ३ साउनदेखि खुला भएको छ । तिंकर नाका खोल्न दुई वर्षदेखि निरन्त पहल गर्नुभएका सम्पूर्ण सहयोगी हातहरूलाई हृदयदेखि धन्यवाद,’ उनले भने ।

Attariya Hospital

तिंकर नाकाबाट पाँच मिनेट हिँडेपछि चीनको क्षेत्रमा सहजै यातायातको साधन उपलब्ध हुन्छ । चीनले नेपाल–चीन सीमा स्तम्भनजिकै सडक पुर्‍याएको छ । नाका बन्द हुँदा छाङ्गरु र तिंकरका मात्रै तीन दर्जनभन्दा बढी व्यापारिक सटरहरू ताक्लाकोटमा बन्द थिए । व्यापारीहरू मर्कामा परेको भन्दै सरकारीस्तरबाटै लामो समयसम्म पहल भएको थियो । सरकारीस्तरबाट औपचारिक नाका खुलेको जानकारी गराउने उद्देश्य भए पनि चिनियाँ पक्षले तयारी नपुगेको भन्दै निर्धारित समय रद्द गरेपछि व्यापारीहरू अनौपचारिक रूपमै ताक्काकोट गएका हुन् ।

‘चार वर्षदेखि कारोबार हुन नसक्दा स्थानीयको दैनिकीमा समस्या हुने अवस्था आइसकेको थियो,’ व्याँस गाउँपालिका– १ घर भई हाल ताक्लाकोटमा रहेका व्यापारी विमल बोहराले भने । चीनसँग जोडिएका अन्य नाका तामझामका साथ खोलिएका थिए ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले ताक्लाकोट जान हालसम्म १८७ जनाको पास उपलब्ध गराएको छ । कोरोना महामारीका कारण ०७६ देखि तिंकर नाका बन्द रहेको थियो । प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार चिनियाँ पक्षसँग भएको भर्चुअल संवादमा पहिलो चरणमा ११ असारदेखि नाका सञ्चालन गर्ने सहमति भएको थियो । त्यसवेला तयारी नपुगेको भन्दै दोस्रोपटक २६ असारमा मिति तोकियो । दोस्रोपटक पनि चिनियाँ पक्षबाट कुनै जानकारी नआएपछि व्यापारीहरूले आफ्नो माध्यमबाट चिनियाँ सरकारी पक्षसँग संवाद गरेका थिए । छाङ्गरुका दुईजना व्यापारी यसअघि हुम्ला नाका भएर ताक्लाकोट गएका थिए ।

नयाँ पत्रिकाबाट