
लामो समय देखि छिमेकी राष्ट्रको रुपमा रहेका नेपाल र भारतको कयौं स्थानमा सिमा बिवाद छन् । ती मध्ये लिम्पियाधुरा लिपुलेक, कालापानी क्षेत्र बढी चर्चामा आउँछ । जहाँ भारतले सन् २०१९ को अक्टोबर अन्तिममा जम्मु काश्मिर सहितको राजनीतिक नक्सा प्रकाशित गर्दा नेपालको लिपुखोला पुर्वको कालापानी समेतको भुभाग समेटेर नयाँ नक्सा प्रकाशन गरेपछि नेपाली मिडिया ,नागरिक समाज लगायत आम जनताले बिरोध जनाए ।जबकी यस अघि देखि नै कालापानीमा भारतीय सैनिक क्याम्प रहे पनि नक्सा भने लिपुखोला लाई सिमा मानी प्रकाशित भएको थियो। कालापानी नक्सामा नेपाल तर्फ नै देखाइएको थियो । मिडिया र जनताको व्यापक बिरोध पछि राजनीतिक चर्चाको बिषय पनि बन्यो र नेपाल राज्यभरी सर्बत्र यसको बिरोध भयो र सरकार लाई ठुलो दबाव पर्यो । सरकार र राजनीतिक दलहरु संबिधानको अनुसूचीमा समावेश रहेको नक्सा संशोधन गरी लिम्पियाधुरा सहितको संशोधित नक्सा राख्न बाध्य भए ।त्यसपछि नेपाल भारत सम्बन्धमा ब्यापक चिसोपन आयो । माइक्रो लेबल सम्म भारतीय चासो रहने भनिएको नेपाली राजनीति त्यसपछि एकाएक परिवर्तन पनि भयो । फलस्वरुप प्रधानमन्त्रीको दल चार टुक्रामा बिभाजन भयो । संबिधान संसोधनको नेतृत्व गर्ने प्रधानमन्त्री प्रतिपक्षमा पुगे भने प्रतिपक्षी दल सत्तामा पुग्यो त्यसपछि सिमा र नक्सा सम्बन्धि कुनै कुरा आज सम्म अधि बढ्न सकेको छैन । यो स्तमभमा स्तम्भकारबाट नेपालको पश्चिमी सिमाना , काली / महाकाली नदि र लिम्पियाधुरा लिपुलेक कालापानी क्षेत्र र नक्सा बारे केही तथ्यमुलक जानकारीहरू समेट्ने प्रयास गरिएको छ ।

१ नेपालको पश्चिमी सिमाना :-
सन् १८१६ को सुगौली सन्धि भन्दा अगाडि बिशाल नेपालको सिमाना हाम्रा बीर पू्र्खाहरुको अदम्य साहस ,धौर्य,पराक्रम र पौरखले पुर्वमा टिस्टा देखि पश्चिममा सतलज सम्म फैलिएको भएपनि सुगौली सन्धि पश्चात् नेपाललाई मेची र कालीमा सिमित गरियो । उक्त सन्धी को धारा ५ ले ” नेपालका राजा र उनका उत्तराधिकारी हरुले पनि काली देखि पश्चिमका प्रदेश र त्यहाँका निवासीहरु संग कुनै सम्बन्ध राख्न पाउने छैनन् “भनी उल्लेख गरे बाट नेपालको पश्चिमी सिमा काली नदि ( महाकाली नदि ) भएको प्रस्ट हुन्छ । यसरी पश्चिमी सिमा काली नदि प्रष्ट भएपछि कालीको उदगम स्थल ( मुहान ) भन्दा पुर्बको भाग स्वत: नेपालको भएको स्पष्ट हुन्छ ।

२ काली को मुहान :-
सुगौली सन्धि पश्चात् बृटिस इन्डियाले निकालेका नक्सा हरुमा लिम्पियाधुरा बाट निस्किएको नदि लाई नै काली नदी को रुपमा देखाइएको पाइन्छ। तर पछिल्ला संस्करणका नक्साहरुमा बृटिस ईन्डियाले नै पनि परिवर्तन गरि , लिम्पियाधुरा बाट निस्कने नदिलाई काली नदी उल्लेख नगरी लिपुलेक बाट आएको लिपुखोला लाई काली भनी देखाएको पाइन्छ भनी जलश्रोत र सिमाविद हरुले बताउने गरेका छन् । तर लिपुखोला भन्दा पुर्वको कालापानीमा समेत भारतीय सीमा सुरक्षा क्याम्प राखे पछि कालापानी क्षेत्रलाई समेत आफ्नो नक्सा मा देखाउन भारतले कालापानी नजिकै एउटा कालीको मन्दिर निर्माण गरि सो मन्दिर नजिक एक खोल्सो बाट कृत्रिम मुल बनाइ त्यसलाई नै कालीको मुहान देखाउन खोजेको भन्ने भनाइ समेत विभिन्न लेख रचना तथा मिडियाहरूमा प्रकाशित र प्रसारित भएका पाईन्छन् । गुगलमा सो खोल्सो लाई काली भनी देखाइएको भने देखिदैन । गुन्जी दोभान भन्दा दक्षिणतिर नदि को बिचमा नेपाल र भारत सीमारेखा देखाई सीमा नदी भएको प्रष्ट देखाइएको छ भने गुन्जी उत्तर तिर लिम्पियाधुरा बाट आउने नदि लाई कुनै नाम दिइएको छैन । नेपाल भारत सिमा देखाउने कुरै छैन । गुन्जी देखि उत्तर लिपु खोलालाई काली / (सारदा )भनी देखाइएको छ । तर गुन्जि दक्षिण को जस्तो नदिको बिचमा सीमारेखा कोरेर नेपाल भारत भनी देखाइएको छैन। रोचक कुरा लिपुखोला लाई काली(शारदा) देखाए पनि सो नदि पुर्व कालापानीमा भारतीय सुरक्षाबलको क्याम्प छ। एकछिन मानौ ,उसैको प्रभावमा बनाइएको गुगलम्याप र त्यसले देखाएको कालीनदी भन्दा पुर्ब को भाग स्वत: नेपाल भएपछि कसरी काली पुर्ब भारतीय सैनिक क्याम्प रहन गयो ,किन भारतीय पक्ष यो कुरा स्वीकार गरिरहेको छैन ? यसको पछाडिको कारणहरू खोज्नु आवश्यक देखिन्छ।
३ नदीको मुहान निर्धारण सम्बन्धि अन्तर्राष्ट्रिय प्रचलन :-
जलबिज्ञानको सिद्धान्त अनुसार ” पानीको मात्रा को हिसाबले सबैभन्दा ठूलो (बढी पानी भएको), बहाव क्षमता र लम्बाई बढी भएको, जलाधार क्षेत्र बढी भएको नदि लाई नै मुल नदी र उदगम स्थल ( मुहान ) मानिन्छ । प्रचलित अन्तर्राष्ट्रिय मान्यता पनि यही हो । यसरी हेर्दा
गुन्जी नजिकको संगमस्थल देखि लिम्पियाधुरा तर्फको नदीको लम्बाई ४७.८४ कि मी रहेको छ भने गुन्जी नजिक को संगम स्थल देखि लिपुलेक तर्फको नदीको लम्बाई १७.७६ कि मी मात रहेको छ ।
नदीको जलप्रवाह ,पानीको मात्रा र जलाधार क्षेत्र सबै लिम्पियाधुरा बाट आउने नदीको नै व्यापक देखिन्छ । त्यसकारण पनि कालीको उदगम(मुहान ) वा मुल नदी लिम्पियाधुरा बाट आउने नदीनै भएको प्रष्ट हुन्छ ।
लिम्पियाधुरा बाट निस्कने नदी नै काली नदी भई सके पछि सोही अनुसार सिमाना हुनुपर्ने हो र त्यस अन्तर्गत हाल भारत अन्तरगत रहेका कुटि नावी र गुन्जी लगायतका तीनवटा गाउँ ( गर्खा) हरु पनि नेपाली प्रशासन अन्तरगत हुनु पर्ने तर लामो समयदेखि त्यो अवस्था छैन । तर हाल प्रकाशित लिम्पियाधुरा सहित को नक्सा जस्तै( बोलचाली को चुच्चे नक्सा) नक्सा पहिले पनि प्रचलनमा रहि नोट र पाठ्यक्रम मा समेत रहेको थियो भनी विभिन्न तथ्यहरूले पुष्टि गर्दछ । तर कहिले देखि त्यो नक्साको बदला कुटि नाबी र गुन्जी बाहेकको अर्को नक्सा प्रकाशित हुन थाल्यो र ती भुभाग भारतीय प्रशासन अन्तर्गत काम गर्न थाले भन्ने कुरा भने तथ्य सहित कसैले भन्न सकेको अवस्था छैन । यसमा जिम्मेवार को को हुन ? पछिल्ला सरकारहरुले यसबारे के- के खोज अनुसन्धान, तथ्य प्रमाण संकलन , कुटनैतिक पहलका कार्य गरे त्यो जनसमक्ष आएको छैन।
वि.स. २०७७ साल अघि नेपाल सरकारका आधिकारिक नक्साहरुमा समेत लिपुखोला बाट निस्केको खोला लाई नै सिमा मानिएको देखिन्छ । यो किन कहिले देखि, कसको पालादेखि मान्न थालियो त्यस पुर्वका सरकार र राजनीतिक दलहरू किन यसमा मौन बसे यसको प्रष्ट जवाफ पनि खोजिनु जरुरी छ ।
वि.स.२०७७ साल अघि सम्म लिपुलेक बाट निस्केको नदिलाई सीमानाको रुपमा चित्रित गरी प्रकाशनमा आएका नक्साहरु नेपालमा प्रचलित थिए तर लिम्पियाधुरा बाट निस्केको नदीलाई सीमानदी मानेर प्रकाशित नक्सा प्राय भेटिदैनन्
४. कालापानी मा भारतीय सैनिक क्याम्प :
तत्कालीन अवस्थामा चलनचल्तीमा रहेको नक्सा अनुसारको सीमा भन्दा पनि पुर्व कालापानी भन्ने स्थानमा भारतीय सुरक्षा क्याम्प कहिले बाट रहेको भन्ने बारे पनि सरकारी आधिकारिक प्रष्टता भेटिन्न । कतिपयले सन १९६२ को भारत चीन युद्ध पश्चात् पराजित भारत पछाडी हट्ने क्रममा कालापानीमा क्याम्प बनाई बसेको भन्ने मत राखेका छन भने कतिले त्यो भन्दा अगाडि देखिनै भारतीय सैनिक क्याम्प रहेको बताएका छ्न ।
बिक्रम संवत् २०१८ को जनगणनामा त्यस क्षेत्रका गणक अधिकृत रहेका बरिस्ठ पत्रकार भैरब रिसाल का अनुसार ” त्यतिबेला कुनै बाधा अबरोध बिना नै त्यस क्षेत्रमा जनगणना भएको , त्यतिबेला त्यहाँ कुनै सैनिक क्याम्प नरहेको र त्यो क्षेत्र ( कुटि नावी,गुन्जी लगायत ) सबै पुर्णरुपमा नेपालकै रहेको” बताएका छ्न् । साथै अन्य कतिपयले त्यस बारे जानकारहरुले ” कुटि नावी,गुन्जी लगायत त्यस क्षेत्रका बासिन्दाहरुले मालपोत ( तिरो) तिरेको रेकर्ड समेत नेपाल संग ( तत्कालीन बैतडी जिल्ला मालपोत कार्यालय मा) रहेको ” भनिएको छ। ती प्रमाण हरु पनि नेपाल संग सुरक्षीत छन छैनन् । तिनको संकलन र सुरक्षा गर्नु र थप प्रमाणहरु जुटाउदै जानू पनि नेपाल सरकार को प्रमुख कर्तव्य हुन जान्छ ।
५.कालापानी बाट भारतीय सैनिक हटाउ अभियान :-
प्रजातन्त्र पुनर्स्थापना पछिको पहिलो संसदमा राष्ट्रिय सभा सदश्य निर्वाचित भएपछि स्व. प्रेमसिंह धामीले ” नेपाली भुमी दार्चुला जिल्लाको कालापानीमा भारतीय सैनिक क्याम्प रहेको र उक्त सैनिक क्याम्प नेपाली भुमीमा कसरी रहन गयो , कुन सहमति र के आधारमा रहनगयो त्यो तत्काल हटाउन ” माग गर्दै आवाज बुलन्द गर्नु भएको थियो । त्यसपछि यो मुद्दा राष्ट्रव्यापी बहसको बिषय बनेको थियो । सो कुरा उनले जीवन पर्यन्त उठाइरहे , तर दुर्भाग्य २०५४ भाद्र मा रहस्यमय जीप दुर्घटनामा उनको निधन भयो । त्यसपछि सामान्य राजनीतिक अभिस्ट पुरागर्ने बाहेक त्यो मुद्दा सशक्त रुपमा उठान हुन सकेन ।
यद्यपि यो मुद्दा पंचायतकालमै दार्चुलाका तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य माननीय स्व.बहादुर सिंह ऐतवाल ज्यूले उठाउनु भएको र सोही कारण उनले मन्त्री पद समेत गुमाएको बताइन्छ ।

यसै गरी २०५५ तिर एमालेले यसबारे संकल्प प्रस्ताव नै संसदमा पेश गरेको।
एमाले बाट माले बिभाजन भएपछि मालेको बिद्यार्थी संगठन अनेरास्ववियुले कालापानी मार्च अभियान नै चलाएको ।
तत्कालीन माओवादीले पनि यहि मुद्दालाई आधार बनाइ भारतसँग सुरुङ्ग युद्ध गर्ने घोषणा समेत गरेको देखिन्छ ।
तर तिनै राजनीतिक दल र नेताहरू पटकपटक सत्तामा पुग्दा समेत यो मुद्दाले प्राथमिकता पाएको देखिदैन ।जबकि प्रचण्ड र ओली ३/३ पटक , माधव नेपाल ,झलनाथ र बाबुराम समेत प्रधानमन्त्री भइ सकेका छ्न् ।
त्यसै गरी लामो समय सत्ताको नेतृत्व गरेको नेपाली काङ्ग्रेसका कुनै प्रधानमन्त्री ,मन्त्री र नेताले सरकार / पार्टी कहिँ कतै बोलेको देखिँदैन। तर पछिल्लो समय लिम्पियाधुरा सहितको नक्सा प्रकाशित गर्दा भने काङ्ग्रेस सहितको समर्थन थियो । त्यसयता झिनो स्वरमा काङ्ग्रेस नेताहरू पनि यसबारे फाट्टफुट्ट बोल्न थालेका छ्न ।
६.लिम्पियाधुरा सहितको नक्सा प्रकाशन :-
नेपालको संविधान जारी गर्दा संविधानको अनुसूचीमा रहेको निसाना छापमा लिम्पियाधुरा बाहेक को ( बोलचाली मा चुच्चे नक्सा बाहेक) नक्सा प्रकाशित गर्ने दल र नेता हरु पछि जम्मु कस्मिर र लद्दाक सहितको नयाँ नक्सा निकाल्ने क्रममा नेपालको कालापानी क्षेत्र समेत भातरिय भुभागमा पर्ने गरि नक्सा प्रकाशित गरे पछि ( यद्यपि कालापानीमा भारतीय सैनिक क्याम्प थियो तर नक्सामा कालापानी नेपालमै देखाइएको थियो। तर कुटि नाबी गुन्जी भने पहिले नै भारत तर्फ देखाउने गरेको थियो ) नेपाली मिडिया नागरिक समाज, सामाजिक संजाल राजनीतिक दल र आम नागरिक सबैको चासो र चर्चा को बिषय बन्न पुग्यो त्यसको बिरुद्ध बहस छलफल , बिरोध र आन्दोलन भए । उता भारतले भने ” नक्सा अहिलेमात्र होइन । भारतले नियमित रुपमै निकाल्ने गरेको र सो नक्सा ले भारतीय संप्रभु क्षेत्रलाइ मात्रै जाहेर गरेको” भारतीय बिदेश मन्त्रालय का प्रबक्ता ले बताए पछि नेपालमा आन्दोलन तीब्र बन्दै गयो त्यसपछि सरकार नयाँ नक्सा प्रकाशित गर्न बाध्य भयो ।
७. आन्दोलनको बेला देखिएका प्रतिक्रिया:-
आफ्नो देशको भुभाग अतिक्रमण गरि छिमेकीले नक्सा प्रकाशन गर्दा स्वाभिमानी र देशभक्तहरु बिरोधमा उत्रिए आक्रोशितहरु कतिपयले युद्ध लड्न तयार रहेको बताए भने कतिपयले सिमानामा सेना तैनाथ गर्नुपर्ने बताए । कतिले सिमामा तारबार लगाउनु पर्छ भने ।देशको सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि सामान्यतया यी आवस्यक नै हुन तर यतिबेला नेपालको वस्तुगत र व्यवहारिक पक्ष हेर्दा त्यो निर्णय कतै हतार त हुदैन ? बरु त्यो भन्दा पहिले नेपालले गर्नै पर्ने केही कुराहरू छन् ।
-सुगौली सन्धि ,त्यसपछि प्रकाशित नक्सा , कालिनदी र त्यसको मुहान,मुहान तय गर्ने अन्तर्राष्ट्रिय प्रचल्न, सो क्षेत्र को पुरानो मतदाता नामावली , मालपोत तिरेको अभिलेख , जनगणना को अभिलेख लगायत अन्य पुराना के के प्रमाण हरु हुन सक्छन् कसरी कहाँबाट प्राप्त गर्न सकिन्छ खोज संकलन र तिनको सुरक्षा गर्ने काम गर्नुपर्ने देखिन्छ।
– बिशेश कुटनैतिक क्षमता भएका व्यक्ति हरु मार्फत कुटनैतिक पहल अगाडी बढाउनुपर्ने देखिन्छ।
– आधारभुत आवश्यकताका वस्तुमा आत्मनिर्भर हुने तर्फ अग्रसर बन्दै बैकल्पिक आपूर्ति को व्यवस्था गर्दै जाने ( संबिधान जारी गर्दा र नाकाबन्दी बेहोर्नु पर्छ भने संभावित प्रतिकुल अवस्थाका बेला जस्तो सुकै अवस्थामा पनि आत्मनिर्भर हुने अवस्था सृजना गर्नुपर्ने देखिन्छ।
-सिमा क्षेत्रका बासिन्दाहरु लाइ स्वदेश बाटै आवतजावत ,शिक्षा र स्वास्थको सुबिधा सहुलियत दरमा खाद्यान्न आपूर्ति तिनका बालबालिका लाई आरक्षण को व्यवस्था गर्नुपर्ने देखिन्छ।
-कुटनैतिक पहल बाट सीमाना प्राप्ति र तार बार अनि सिमा सुरक्षाको व्यवस्था गर्नुपर्ने देखिन्छ।
सन्दर्भ सामग्री :-
बिबिन्न व्यक्ति हरुका लेख रचना , टेलिभिजन अन्तर्वार्ता आदि






























