
दार्चुला: नेपाल हेभी इक्विपमेन्ट अपरेटर संघ, दार्चुलाले आफ्नो प्रथम जिल्ला स्तरीय आमभेला सम्पन्न गरेको छ। भेलाले संघको संस्थापक समिति गठन गर्दै सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ।

संघको अध्यक्षमा पुष्कर सिंह कार्की चयन भएका छन् भने उपाध्यक्षमा नरेश सिंह धामी चयन भएका छन्। रघुवीर सिंह डागा सचिव, जमन सिंह भण्डारी सहसचिव, दिलिप सिंह धामी कोषाध्यक्ष, तथा सदस्यहरूमा विवेकशील धामी र प्रकाश सिंह कुँवर चयन भएका छन्।
संघले हेभी इक्विपमेन्ट अपरेटरहरूको हकहित संरक्षण, दक्षता अभिवृद्धि, तथा पेशागत सुरक्षाका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ। यसक्रममा संघले स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै अपरेटरहरूको हक तथा सुविधासम्बन्धी आवश्यक पहल गर्ने बताएको छ।




नवगठित समितिले अपरेटरहरूको समस्या समाधान, क्षमता अभिवृद्धि तथा रोजगार सुरक्षाका लागि रणनीतिक योजना बनाउने प्रतिबद्धता जनाएको छ। संघले जिल्लाका हेभी इक्विपमेन्ट अपरेटरहरूको पेशागत उन्नति, अधिकार संरक्षण तथा दक्षता वृद्धिका लागि नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।


































