
दिनेशप्रसाद भट्ट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्त भएका छन । मन्त्रिपरिषद्को बैठकले दिनेशप्रसाद भट्टलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेको छ। यस नियुक्तिका लागि गठित सिफारिस समितिले दिनेशप्रसाद भट्ट, सुमनकुमार कर्ण र मन्दिप सुवेदी गरी तीन जनाको नाम मन्त्रिपरिषद्मा पेश गरेको थियो। मन्त्रिपरिषद्ले भट्टलाई यो जिम्मेवारी दिने निर्णय गरेको हो।

दिनेशप्रसाद भट्ट वातावरण तथा जलवायु परिवर्तनका क्षेत्रमा अनुभवी विज्ञ हुन्। उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक, थापाथली लगायत विभिन्न क्याम्पसहरूमा करिब २० वर्ष अध्यापन गरिसकेका छन्। उनी हाल जलवायु परिवर्तनसम्बन्धी पीएचडी अध्ययनरत छन्।

भट्टले विश्व बैंक, एसियन विकास बैंक, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, विश्व स्वास्थ्य संगठन, खाद्य तथा कृषि संगठन, स्विस विकास सहयोग, फिनिस विकास संस्था र ग्रीन क्लाइमेट फण्ड जस्ता अन्तर्राष्ट्रिय संस्थाद्वारा सञ्चालित परियोजनाहरूमा परामर्शदाताको रूपमा काम गरिसकेका छन्। उनी खानेपानी, सरसफाइ तथा वातावरणसम्बन्धी पाँच पुस्तकका लेखक पनि हुन्।

प्राधिकरणको नेतृत्व सम्हालेसँगै भट्टलाई विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, आपत्कालीन उद्धार तथा पुनर्निर्माणका क्षेत्रमा प्रभावकारी कार्य गर्ने चुनौती छ। उनले विपद् व्यवस्थापनलाई दिगो बनाउन नीति, योजना र कार्यान्वयनमा सुधार गर्ने अपेक्षा गरिएको छ। नयाँ कार्यकारी प्रमुखका रूपमा उनको नेतृत्वमा प्राधिकरणले विपद् व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण प्रगति गर्ने आशा व्यक्त गरिएको छ।





























