
दार्चुलाका विभिन्न गाउँमा भाइरल ज्वरोका बिरामीको संख्या बढेसँगै स्वास्थ्यकर्मीहरू गाउँमै पुगेर उपचार गर्न थालेका छन्। मालिकार्जुन र दुहुँ गाउँपालिकाका स्वास्थ्यकर्मीले बस्तीमै पुगेर उपचार तथा परामर्श सेवा सञ्चालन गरेका हुन्।

मालिकार्जुन गाउँपालिका–५ मल्तडीमा भाइरल ज्वरो फैलिएको खबरपछि पस्ती आधारभूत अस्पतालका डा. निराजन बोहरा नेतृत्वको टोलीले गाउँमै उपचार गरेको छ। स्वास्थ्य जाँच र परामर्श सेवाका साथै औषधि वितरण गरिएको छ।
दुहुँ गाउँपालिका–२ मा एक सातादेखि भाइरल ज्वरो फैलिएको भन्दै हिकिला स्वास्थ्यचौकीले चैत ७ देखि १२ गतेसम्म बस्तीस्तरमै स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय गरेको छ।


जिल्ला अस्पताल दार्चुलामा समेत भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको संख्या दिनप्रतिदिन बढिरहेको छ। अस्पतालमा दैनिक दुई दर्जनभन्दा बढी बिरामी उपचारका लागि आइरहेका छन्।
विशेष गरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएकाले स्वास्थ्यकर्मीले पर्याप्त पानी पिउन, भीडभाडबाट टाढा रहन, मास्क लगाउन र सरसफाइमा ध्यान दिन सुझाव दिएका छन्।





























