रानाथारु समुदायकाे एक विशेष चाड खखडेहरा पर्व :

Image
Nisarga Hospital
मान सिंह धामी : सुदूरपश्चिमकाे तराईकाे अन्नकाे भण्डार मानिने विशेष गरि कैलाली र कञ्चनपुर जिल्लामा बसाेबास गर्ने रानाथारु समुदायकाे याे पर्वकाे विशेष महत्त्व रहेकाे छ । भाेलि चैत्र – ८ गते याे पर्वकाे शुभसाइत रहेकाे छ । खखडेहरा पर्व नाैलाे पर्व लागेता पनि राना समुदायका जानकारहरूसंग साक्षात्कार गर्दा र विभिन्न सामाजिक सञ्जालबाट प्राप्त जानकारीका आधारमा याे पर्वकाे विशेष महत्त्व रहेकाे जानकारी पाउँदा संस्कृतिविद नभए पनि याे खखडेहरा पर्वकाे थप खाेज अनुसन्धानगर्न लालायित भएकाे छु ।
CP Hospital Dhangadhi
आफू रानाथारु समुदायकाे नागरिक नभएता पनि जानकारहरूबाट प्राप्त जानकारीकाे आधारमा खखडेहरा भनेकाे के हाे ? याे पर्व किन मनाइन्छ ? यसकाे महत्त्व के छ ? आदि कुराहरू याे लेखमा समेट्ने प्रयास गरेकाे छु । होली पर्वको क्रममा मनाइने खखडेहरा रानाथारु समुदायको सबैभन्दा ठूलो पर्व हो । तराईका जिल्लामा बसोबास रहेको रानाथारु समुदायले एक महिना आठ दिनसम्म होली पर्व मनाउने गर्दछन्। हाेली पर्वकै अन्तिम ३८ औं दिनमा याे पर्व धूमधामसंग मनाउने गर्दछन् ।
सदियौँ देखि तराईका जंगलको छेउछाउ गाउँमा बस्दै आइरहेका रानाथारु भूत पिचास, दरिद्रता, महामारी जस्ता निकै ठुला बिपत्तिहरूकाे सामना गर्दै आइरहँदा होलीमा सबै महिनौँ दिन रमाउँदा काममा बाधा अवराेधका साथै थुप्रै समाजिक समस्या, रोग, दरिद्रता, भूत पिसाच, स्वास्थ्य लगायतका क्षेत्रमा समस्या निराकरणगर्न सामुहिक रुपमा खखडेहरा फुटाउने चलन रहेकाे छ । खखडेहरा सबै समस्या विशेषगरि भूतप्रेतको प्रतिक पनि हो । जो गाऊँ भन्दा बाहिर जंगलमा गएर आजकै दिन फुटाउने र कुट्ने गरिन्छ ।
तराई क्षेत्रमा गृष्म ऋतुसँगै महामारी, मलेरिया, प्रकोप बढ्ने समय सुरु भएकाले ति प्रकोपहरु नआउन भनेर सामुहिक रुपमा आदिवासी रानाथारुहरुले खखडेहराको नाममा ति सबै समस्यालाई कूटेर फुटाइ गाउँमा मनोबल बढ्ने हुँदा भूत पिसाच रहित सुखी समाजकोलागि खखडेहरा पर्वको प्रचलन भएको रानाथारु जानकारहरु बताउँछन ।
रानाथारु समुदायले हाेली पर्व भिन्नै तरिकाले मनाउँछन् । होली पर्व यस समुदायको लागि सबै भन्दा ठूलो पर्वकाे रुपमा रहेकाे छ । रानाथारु समुदायले ३८ दिनसम्म होली मनाउने गर्छन् । माघको पूर्णिमाका दिन होली राखिन्छ र त्यसै दिन देखि होली सुरु हुन्छ । माघको पूर्णिमा देखि फागु पूर्णिमा सम्म गरी एक महिना जिन्दा (जिवित) होली रातमा मात्र खेलिन्छ । फागुनको पुर्णिमा होलीमा आगो लगाउने गरिन्छ । होलीमा आगो लगाएको अर्कोदिन हाेली जलेर निस्केकाे खरानीकाे टिका लगाउने गर्दछन् ।
यसरी टिका लगाउँदा सु-स्वास्थ्य हुने, रोगनलाग्ने तथा दीर्घायु हुने रानाथारु समुदायकाे विश्वास रहेकाे छ । टिकाको दिन देखि ८ दिन सम्म मरी होली (मरेको होली) खेल्दछन् । मरी होली रातमा र दिनमा पनि खेल्ने गर्दछन् । टिकाको आठौँ दिन नै खखडेहरा हो । खखडेहरालाई होलीको बिदाईको दिनका रुपमा पनि लिइन्छ । खखडेहराका दिन बिहानै उठेर गाउँ भरीका प्रत्येक घरबाट एक एक जना मान्छे खखडेहरा फुटाउन जंगलमा जाने गर्दछन । खखडेहरा फुटाउन जाँदा फाेंलाे (गाग्रो), कसुणाे (लोटा), खपटेलका टुक्रा, माटोको मट्याङग्रा, शुद्ध पानी, गुइँठा (सुकेको गोबर) आदि प्रयाेग गरिन्छ । घर घरबाट एका बिहानै माटोको भाँडोमा सुइरो गाँसिएका मट्याँग्रा बोक्दै आबओ रिउ लुली लंगडी, कानी खुत्री, रोगधोग, भूत ब्यार भन्दै घर घरबाट खखडेहरा लगेर जाने चलन रहेकाे छ । खखडेहरा गाउँभन्दा बाहिर गाउँलेले ल्याएको सामग्री एकमुष्ट पारी (पल्लाे) गाउँकाे प्रधान वा चाकर (गाउँको चौकीदार) ले फुटाउने चलन छ । खखडेहरा फुटाइ सके पछि सहभागीहरू सबै आ-आफ्नाे घर तिर लाग्छन् र खखडेहरालाई फर्केर नहेर्ने चलन रहेकाे छ । फर्केर हेर्दा दानव (राक्षस) देखिन्छ भन्ने रानाथारु पूर्खाको भनाई छ ।
खखडेहरा फुटाएर आउनेहरु फेरि होलीमा जलाइएको खरानी लिएर गाउँका भलमन्सा, पधना, अगुवा लगायत सबैको घर घरमा पुगी सबैलाइ सो खरानीको टिका लगाई आशिर्वाद दिँदै खुशीयाली मनाउने गर्छन र गाउँका प्रतिष्ठित व्यक्तिबाट दक्षिणा पनि उठाउने गर्छन् साथै सो दिन गाउँभरिका मान्छेले आफ्नो खेतिपाती, गोरु गाडा समेत बन्द गर्नुपर्ने चलन छ, कसैले अटेर गरि गोरु गाडा चलाएमा डण्ड जरिवाना गर्ने चलन रहिआएको छ । रानथारु समुदायकाे एक जना मानिससंगकाे भलाकुसारी र साे पर्वकाे बारेमा जिज्ञासा राख्दा उक्त दिन खानाका मिठा मिठा परिकारहरू बनाई रमाइलो गर्दै घरपरिवारका सबै सदस्य जमघटभई खाने गर्दछन् ।
माथि उल्लिखित कुराहरू मैले रानाथारु समुदायकाका बुद्धिजीवी, समाजसेवी जानकारहरूबाट र विशेषगरी धनगढी – धनगढी गाउँ बस्ने जानकी रानाज्यू लगायत विभिन्न सामाजिक सञ्जालबाट संकलन गरि पाठक समक्ष पेश गरेकाे व्यहाेरा अनुराेध गर्न चाहन्छु । याे पर्वकाे उपलक्ष्यमा प्रदेश सरकारले कैलाली र कञ्चनपुर जिल्लामा सार्वजनिक विदा समेत दिंदै आएकाेमा यस वर्ष सुदूरपश्चिम प्रदेशभरि नै प्रदेश सरकारले विदा दिएकाे छ । खखडेहरा पर्व २०८१ काे उपलक्ष्यमा रानाथारु समुदाय तथा याे पर्व मनाउने सम्पूर्ण समुदायमा हार्दिक मङ्गगलमय शुभकामना व्यक्त गर्दछु ।
मान सिंह धामी ( भाैनबाटी)
उप- प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस धनगढी
स्थायी ठेगाना :
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी (काेटबुङा), दार्चुला
धन्यवाद !