
सुखड : कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा तीन दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको न्यु स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले आज (बुधबार) एक विशेष कार्यक्रमका बीच शिक्षाविद् नैनबहादुर बोहरालाई दोसल्ला ओढाएर सम्मानपत्रसहित बिदाइ गरेको छ ।

बोहरा लामो समयदेखि कैलालीको मध्य क्षेत्रमा शिक्षाको अभिवृद्धिका लागि समर्पित रहँदै आएका थिए । उनी सप्तश्री माविका प्रधानाध्यापकको रूपमा कार्यरत रहँदा शिक्षाको गुणस्तर सुधारका लागि महत्वपूर्ण योगदान पु¥याएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा न्यु स्टार इङ्ग्लिस बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल परशुराम भण्डारी (पीआर) ले बोहराले शिक्षाक्षेत्रमा पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे । उनले भने, बोहराजस्ता समर्पित शिक्षकहरू नै शिक्षाको मेरुदण्ड हुन् । उनको योगदान सदैव स्मरणीय रहनेछ ।’
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले बोहराको दीर्घायू एवं उज्ज्वल भविष्यको कामना गर्दै शिक्षाक्षेत्रमा उनको अतुलनीय योगदानको चर्चा गरेका थिए । बोहराले आफ्नो विदाइ सम्बोधनमा शिक्षाक्षेत्रमा आफूले बिताएको लामो समयको अनुभव बाँड्दै भावुक बन्दै भने, शिक्षकको कर्तव्य सधैं विद्यार्थीलाई उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गर्नु हो । मैले मेरो तर्फबाट सकेसम्म योगदान गर्ने प्रयास गरें । भविष्यमा पनि शिक्षा क्षेत्रमा सहयोग गर्न सँधै तत्पर रहनेछु ।’


कार्यक्रम विभिन्न सांस्कृतिक प्रस्तुति तथा सम्मान कार्यक्रममा रमाइलो वातावरणमा सम्पन्न भएको थियो । बोहराको विदाइसँगै न्यु स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले आगामी दिनमा पनि शिक्षाक्षेत्रको विकास र गुणस्तरीय शिक्षाका लागि निरन्तर प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।
बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल भण्डारीले नैन बोहरालाई सम्मानस्वरुप स्वीट सेयर प्रदान गरे भने बोहराले पनि सो स्वीट सेयर ग्रहण गर्दै आगामी दिनमा न्यु स्टारसँग कुनै न कुनै ढंगले एक भैरहने प्रतिबद्धता व्यक्त गरे ।




























