
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको कैलाली बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि आज बिहानदेखि मतदान जारी छ।

बिहान ८:४० बजेबाट औपचारिक रूपमा सुरु भएको मतदानमा हालसम्म २,०५६ मत खसेको निर्वाचन अधिकृत तथा सहप्राध्यापक तर्कराज भट्टले जानकारी दिनुभयो।
मतदानको पहिलो मत ७५ वर्षीय पूर्णानन्द जोशीले खसाउनुभएको हो। उहाँ एम.ए. तेस्रो सेमेस्टरका विद्यार्थी हुनुहुन्छ।

निर्वाचनमा दर्ता भएका ११ वटा विद्यार्थी संगठन, समूह र स्वतन्त्र उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ अध्यक्ष पदमा ६ जना, सचिवमा ६ जना, कोषाध्यक्षमा ५ जना र सदस्य पदमा ३४ जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ।

क्याम्पसमा जम्मा ३,५९० मतदाता रहेका छन् भने मतदान प्रक्रिया आज बेलुका ४ बजेसम्म चल्नेछ।
निर्वाचन प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित बनाउने उद्देश्यले क्याम्पस परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको मतदान स्थलमा भीड व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
मतगणना आज रातिदेखि सुरु हुने अनुमान गरिएको छ भने प्रारम्भिक नतिजा भोलिसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ।




























