
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको स्थानीय भाषा हराउँदै गइरहेकोप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।

सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा देउडा समाज केन्द्रीय कार्यालयद्वारा आयोजित देउडा खेल तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भाषा लोप हुँदै जानु गम्भीर विषय भएको बताए।
“जुन समाजको भाषा हराउँछ, त्यो समाज कमजोर र विखण्डित बन्छ भन्ने भनाइ छ,” डडेल्धुरा जिल्लाबाट निर्वाचित देउवाले भने, “हामीले आफ्नै मातृभाषा बोल्न छाड्दै गएका छौं। सबै नेपाली बोल्न थालेका छौं, र अब त कतिपयले आफ्ना छोराछोरीसँग नेपाली होइन, अंग्रेजीमै संवाद गर्न थालेका छन्।”


उनले भाषा संरक्षणका लागि विश्वभर संघर्ष चलिरहेको भन्दै सुदूरपश्चिमका भाषा जोगाउन पनि सबैले पहल गर्नुपर्ने बताए। “संसारभर मातृभाषा जोगाउन आन्दोलन चलिरहेका छन्,” उनले भने, “हामीले पनि सुदूरपश्चिमको भाषा बचाउन एकजुट हुनुपर्छ।”
देउवाले भाषा संरक्षणसँगै क्षेत्रीय संस्कृति जोगाउनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए। उनले १ वैशाखलाई विशु संक्रान्तिका रूपमा मनाउने सुदूरपश्चिमको परम्परालाई उल्लेख गर्दै त्यसलाई पनि संरक्षण गर्नुपर्ने बताए।































