
नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँले बढेर २ लाख रुपैयाँ नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार बढेर १ लाख ९७ हजार ९०० रुपैयाँमा पुगेको हो।

महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको वृद्धिको असर नेपाली बजारमा पनि देखिएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आगामी दिनमा सुनको मूल्य अझै बढ्ने अनुमान गरिएको छ।
यसैबीच, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। सोमबार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा पुगेको छ।



























