
दार्चुला: महाकाली कोरिडोरअन्तर्गतको अत्यन्तै संवेदनशील टिङ्कर सडक निर्माण कार्यमा नेपाली सेना दुवैतर्फबाट ट्रयाक खोल्न सक्रिय भए पनि कामको गति भने बजेटको अभावका कारण निकै सुस्त देखिएको छ।

दार्चुला–टिङ्कर सडकखण्ड अन्तर्गत व्यास गाउँपालिका–३ तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, आतुङ्ती, तम्बाकु हुँदै एक नम्बर वडाको छाङरु–गागासम्म विस्तार गर्न नेपाली सेना खटिएको छ। हालसम्म जम्मा १५.२ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ भने चालु आर्थिक वर्षमा एक दशमलव आठ किलोमिटर मात्र खोलिएको छ।
सेनाका प्रवक्ता ब्रिगेडियर जनरल गौरवकुमार केसीका अनुसार, २०७८/७९ मा काम सुरु भए पनि बजेटको अभावले पाँच वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य अपुरो भएको हो। चालु वर्षमा नौ करोड मात्रै बजेट प्राप्त भएकोमा निर्माण रोकिने अवस्थामा पुगेपछि थप पाँच करोड विनियोजन गरिएको छ।

सेनाले फतङगाड, आतुङ्ती, तम्बाकुजस्ता दुर्गम स्थानमा जोखिम मोलेर ट्रयाक निर्माण गरिरहेको छ। तुसारपानीदेखि मालसम्म सवारीसाधन सञ्चालन भइरहेका छन् तर अझै दर्जनौँ किलोमिटर ट्रयाक खोलिन बाँकी छ।

व्यास गाउँपालिका–१ का टिङ्कर वडासदस्य हितेश बुढाथोकी भन्छन्, “ढिलै भए पनि दुवैतर्फबाट काम सुरु हुनु सकारात्मक हो, तर प्राथमिकताका साथ पर्याप्त बजेट नहुँदासम्म यो काम टुंगिँदैन।”
यस्तै माग व्यास–१ अध्यक्ष अशोकसिंह बोहराको पनि रहेको छ। उता पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको नेतृत्वमा वैशाख २२ गते प्रधानमन्त्रीसमक्ष बुझाइएको ज्ञापनपत्रमा टिङ्कर सडकका लागि कम्तीमा ५० करोड बजेट विनियोजन गर्न जोड दिइएको छ।
भारतले लिपुलेक–कालापानी सडक दुई लेनमा विस्तार गरिरहेको अवस्थामा नेपालले भने आफ्नै भूभागमा ट्रयाक खोल्न बजेट माग्दै बस्नुपर्ने अवस्था चिन्ताजनक भएको विश्लेषणकर्ताहरूको टिप्पणी छ।




























