
आगामी मनसुन अवधिमा संभावित विपद् न्यूनीकरण तथा आपत्कालीन व्यवस्थापनका लागि सरकारले नेपाली सेना बाहेक १७,७०० जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलवार सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यो जानकारी दिएको हो।
प्राधिकरणका प्रवक्ता उपसचिव रामबहादुर केसीका अनुसार, नेपाल प्रहरीबाट १०,०८५ जना र सशस्त्र प्रहरी बलबाट ७,६१५ जना जनशक्ति राहत, उद्धार र खोज कार्यका लागि तयारी अवस्थामा राखिएका छन्। साथै, नेपाली सेनाले पनि आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखेको स्पष्ट पारिएको छ।

सीमित स्रोतसाधन, उच्च जोखिम
प्रवक्ता केसीले सीमित स्रोतसाधनका कारण उद्धार र राहतमा चुनौती आइपर्ने सम्भावना औंल्याउँदै, स्रोतको अधिकतम उपयोग गर्नुपर्ने बताए। “विगतका वर्षहरूले देखाएको अनुभवअनुसार, चाहेर पनि सबै ठाउँमा तत्काल उद्धार सम्भव नहुने अवस्था आउने गर्छ,” उनले भने।

उद्धार कार्यमा प्रयोग हुने उपकरण, प्रविधि, खोज सामग्री तथा तालिमप्राप्त जनशक्तिको अभाव रहेको भन्दै प्राधिकरणले सम्बन्धित निकायलाई समयमै पूर्ति गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
स्थानीयदेखि केन्द्रसम्म कमान्ड पोस्ट सक्रिय
मनसुन अवधि भरि केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा प्रतिकार्य कमान्ड पोस्ट सक्रिय रहने जानकारी दिइएको छ। यसले आपत्कालीन अवस्था र विपद् व्यवस्थापनमा समन्वय र सहजीकरण गर्नेछ।
१० वर्षमा ८,४१८ विपद्, २,३१७ को मृत्यु
प्राधिकरणका अनुसार, पछिल्लो १० वर्षमा नेपालमा ८,४१८ विपद्जन्य घटना भएका छन्। ती घटनामा २,३१७ जनाको ज्यान गएको छ भने ४१९ जना बेपत्ता भएका छन्। यस्तै २,६४९ जना घाइते भएका छन्।
गएको वर्षकै तथ्याङ्क चिन्ताजनक
गत वर्षको मनसुनमा मात्र २,१३८ वटा विपद्जन्य घटना घटेका थिए। तीमध्ये ४९५ जनाको मृत्यु, ६६ जना बेपत्ता र ठूलो जनधनको क्षति भएको थियो। असोज १० देखि १३ गतेसम्मको अवधीमा मात्र २५० जनाको ज्यान गएको विवरण सार्वजनिक गरिएको छ। सोही अवधिमा ४५ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको भनाइ छ।





























