
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनको रोमाञ्चक अन्तरले पराजित भएको छ।

डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३२१ रनमै समेटिएर हार बेहोर्नुपर्यो।
नेपालको बलियो संघर्ष, भीम र दीपेन्द्रको अर्धशतक
नेपालका लागि भीम सार्कीले ८५ बलमा ८ चौकाको मद्दतले सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङ खेले। उनले आरिफ शेखसँग ९४ रनको साझेदारी गरे। शेखले ५५ बलमा ५ चौकासहित ३९ रन बनाए।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा २ चौकासहित ५६ रन बनाए। उनले सोमपाल कामीसँग सातौँ विकेटका लागि १०५ रनको महत्वपूर्ण साझेदारी गरे। सोमपालले ४४ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६७ रनको आक्रामक योगदान दिए।

स्कटल्यान्डको उत्कृष्ट बलिङ र सन्तुलित प्रदर्शन
स्कटल्यान्डका म्याकेन्जी जोन्सले ३ विकेट लिए। शफिया शरिफ र माइकल लिस्कले समान २–२ विकेट लिए भने ब्रान्डन म्याकमुलेन र चार्ली कासेलले १–१ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको बलियो स्कोर बनाएको थियो।
बेरिङ्टनको शतक, लिस्कको विस्फोटक ब्याटिङ
रिची बेरिङ्टनले ११४ बलमा ६ चौका र ४ छक्कासहित १०२ रन बनाए। माइकल लिस्क ६२ बलमा १२ चौका र ३ छक्का सहित ९६ रनमा अविजित रहे। त्यसैगरी चार्ली टियरले ६८ रन (६५ बल, ९ चौका), मार्क वाटले अविजित २१ रन र फिनले म्याकक्रियाथले १७ रनको योगदान दिए।
नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिँदा ललित नारायण राजवंशीले १ विकेट लिए।




















