
करिब पाँच महिनाअघि निधन भएका कैलालीको गोदावरी नगरपालिका–२ का युवा बलराम महराको परिवारलाई सिटीजन लाइफ इन्स्योरेन्स लिमिटेड लम्की शाखाले मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ।

सोमबार एक कार्यक्रमबीच मृतक महराको परिवारलाई मृत्यु दाबी बापत ५ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो। चेक वडासदस्य डबल बहादुर साउँद र सिटीजन लाइफ लम्की शाखा प्रमुख पूर्णप्रसाद घोडासैनीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै वडासदस्य साउँदले उक्त रकमले मृतक परिवारलाई केही हदसम्म राहत पुग्ने विश्वास व्यक्त गरे। साथै, उनले बलराम महराको निधनले वडा–२ ले एक सक्षम र उर्जाशील युवा गुमाएको दुख व्यक्त गरे। साउँदले बिमा कम्पनीले मृतकको घरमै आएर रकम हस्तान्तरण गर्नु सकारात्मक उदाहरण भएको भन्दै कम्पनीलाई धन्यवाद दिए।


शाखा प्रमुख घोडासैनीका अनुसार मृतक महराले करिब ६ महिनाअघि ५ लाख रुपैयाँको जीवन बिमा गरेका थिए। बिमा गरेको एक महिनापछि नै उनको निधन भएको हुँदा आवश्यक कागजी प्रक्रिया पूरा गर्न केही समय लागेको उनले बताए।
उनका अनुसार मृतक परिवारलाई अहिले मृत्यु दाबी अन्तर्गत ५ लाख रुपैयाँ र काजक्रिया खर्चका लागि अतिरिक्त ५० हजार रुपैयाँ गरी कुल ५ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो। साथै, बिमा अवधि २० वर्ष रहेको हुँदा बाँकी अवधीपछि ५ लाख रुपैयाँ थप भुक्तानी हुने पनि घोडासैनीले जानकारी दिए।
कार्यक्रममा कर्णाली रिभर यातायात प्रालिका पदाधिकारी तथा कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो।



















