
बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित अस्तु बतासेडाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा चार जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्।

बुर्तिबाङबाट चौर जाँदै गरेको लु प्र ०१–००१ च १७७५ नम्बरको जिप सडकबाट करिब ६० मिटर तल खस्दा ढोरपाटन–२ की ७० वर्षीय नरबहादुर कार्की र ७५ वर्षीया भीमकुमारी बुढाको घटनास्थलमै मृत्यु भएको हो।
गम्भीर घाइते भएकी टीकाकुमारी कुँवरको पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भयो भने मनकुमारी थापाको उपचारका क्रममा मणिपाल अस्पतालमा शनिबार बिहान निधन भयो।


दुर्घटनामा चालकसहित १२ जना घाइते छन्, जसको पोखरा र पाल्पाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख आनन्द बस्नेतका अनुसार दुर्घटनाको कारण खुलेको छैन तर गाडीमा कुल १६ जना सवार थिए। अनुसन्धान जारी छ।



















