
चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वी नाका काँकडभिट्टाबाट रु १८ अर्ब ४ करोड ६० लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ। मेची भन्सार कार्यालयका अनुसार पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ (हवाई इन्धन) र मट्टितेलको आयात गरिएको हो।

भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा पेट्रोलियम पदार्थ आयातमा ५.६० प्रतिशतले गिरावट आएको छ। यद्यपि, राजस्व सङ्कलन भने ५.७० प्रतिशतले वृद्धि भई रु ४७ करोड ४३ लाखले बढेर कुल रु ८ अर्ब ७८ करोड २७ लाख पुगेको छ।
भन्सार तथ्याङ्कअनुसार ११ महिनामा ९३ हजार ८२४ किलोलिटर पेट्रोल आयात गरी रु ८ अर्ब ११ करोड ५९ लाख राजस्व संकलन भएको छ। यस्तै, ६८ हजार ८२० किलोलिटर डिजेल आयातबाट रु ६ अर्ब २६ करोड ७१ लाखको कारोबार भएको छ।
त्यसैगरी, सो अवधिमा रु २ अर्ब ५९ करोड बराबरको २३ हजार ४३८ मेट्रिक टन एलपी ग्यास, रु ६१ करोड २० लाखको ६,७०८ किलोलिटर एटीएफ र रु २२ करोड ७१ लाख बराबरको २,५२० किलोलिटर मट्टितेल आयात गरिएको कार्यालयले जनाएको छ।



























