
बैतडी – बैतडीको सिगास गाउँपालिका वडा नं. ३ तथा आसपासका क्षेत्रहरूमा नेपाल टेलिकमको नेटवर्कमा लामो समयदेखि समस्या देखिएपछि सेवाग्राही हैरान भएका छन् ।

विशेषगरी सिगास गाउँपालिका वडा नम्बर ३, ४ र ५ का विभिन्न बस्तीहरूमा टेलिकमको सेवा अवरुद्धजस्तै हुँदा स्थानीय नागरिकहरू सञ्चार सेवाबाट बञ्चित हुन थालेका छन् ।
विगत लामो समयदेखि नै नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिने गरेको भएपनि पछिल्लो १ हप्ता यता सिगास गाउँपालिका वडा नम्बर– ३ का चमडेखर्क, डुडै, सिन्याखेत, कोटिली, ढुम लगायतका बस्तीहरूमा नेटवर्क सम्पर्कमै समस्या देखिएको स्थानीय शिक्षक गगग सिंह धामीले जानकारी दिनुभयो । यस्तै, वडा नम्बर –४ र ५ का तल्लो भेगका क्षेत्रहरुमा पनि फोन सम्पर्क गर्न गाह्रो भइरहेको र यस क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि नेपाल टेलिकमको मोबाइल नेटवर्क कमजोर हुँदै गएको जनाएका छन् ।


नेटवर्क समस्या हुँदा मोबाइलबाट फोन सम्पर्क, इन्टरनेट प्रयोग, एसएमएस सेवालगायतका नियमित कार्यमा समेत बाधा पुगिरहेको शिक्षक धामीले बताए । उनले फोन गर्दा समयमै नलाग्ने फोन लागि हालेमा राम्रोसँग कुराकानी नहुने बताए । सामान्य कुराकानी गर्न वा आपत्कालीन अवस्थामा समेत मोबाइल प्रयोग गर्न नसक्दा अत्यावश्यक सेवामा असर परिरहेको उहाँले बताए । यसबारेमा पटकपटक गुनासो गर्दै आए पनि कतैबाट पनि समस्या समाधान नभएको स्थानीयको भनाइ छ ।
सिगास गाउँपालिका वडा नं. ३ को बल्लेजुडा धारमा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छोडे पछि समस्या भएको नागरिक हरुकाे गुनासो रहेकाे छ । यस विषयमा डडेलधुरा जिल्ला नेपाल टेलिकम कार्यालय प्रमुख बिष्णु राज भण्डारीका अनुसार सिगास ३ को टुणाधार बल्लेजुडा धारमा रहेको टेलिकम टावरकाे समस्या रहेको र यसको तुरुन्तै समाधान हुने बताएका छन् ।
































