
आर्थिक वर्ष २०८१/८२ मा छापावाल सुनको मूल्य प्रतितोला ४४ हजार ५ सय रुपैयाँले बढेको छ। गत वर्षको साउन १ गते सुनको मूल्य १ लाख ४७ हजार ८ सय रुपैयाँ थियो भने असार ३१ गते अन्तिम दिन १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन भने सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य गत आर्थिक वर्षमा ३९० रुपैयाँले वृद्धि भएको छ। २०८१/८२ को पहिलो दिन चाँदी प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो भने अन्तिम दिन २ हजार २६० रुपैयाँ पुगेको थियो। नयाँ वर्षको पहिलो दिन चाँदी थप ५ रुपैयाँले बढेर २ हजार २६५ रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

२०८१ मंसिरमा सरकारले सुन–चाँदीको भन्सार महसुल १० प्रतिशतमा झारेपछि मूल्य केही समय घटेको थियो। त्यसैगरी २०८२ साल साउन १ गतेदेखि सुन–चाँदीमा २ प्रतिशत विलासिता कर पनि लागू गरिएको छ।
































