
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गरिएको जानकारी दिएको छ। अब नेपाली श्रमिकको मासिक न्यूनतम तलब १९ हजार ५५० रुपैयाँ हुनेछ।

नयाँ दरअनुसार मासिक तलबमा आधारभूत पारिश्रमिक १२,१७० रुपैयाँ र महँगी भत्ता ७,३८० रुपैयाँ निर्धारण गरिएको छ। यो निर्णय सरकार, रोजगारदाता र श्रमिक प्रतिनिधिहरूबीच बुधबार साँझ भएको सहमतिपछि सार्वजनिक गरिएको हो।
दैनिक ज्यालादारी श्रमिकको न्यूनतम तलब ७५४ रुपैयाँ निर्धारण गरिएको छ, जसमा ४७० आधारभूत र २८४ महँगी भत्ता समावेश छ। यस्तै, प्रतिघण्टाको न्यूनतम पारिश्रमिक १०१ रुपैयाँ तोकिएको छ भने आंशिक समय काम गर्ने श्रमिकका लागि प्रतिघण्टा १०७ रुपैयाँ कायम गरिएको छ।


यो निर्णय श्रम ऐन २०७४ को दफा १०६(१) अनुसार गरिएको हो। चिया बगानका श्रमिकहरूमा भने यो दर लागू नहुने मन्त्रालयले स्पष्ट पारेको छ। उनीहरूको पारिश्रमिक सम्बन्धित पक्षसँग छलफलपछि छुट्टै निर्णय गरिनेछ।
































