नेपाली जनताका प्रिय नेता वीपी कोइरालाको ४३औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै

Image
Nisarga Hospital

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली साहित्यका मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको ४३औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमहरू गरी मनाइँदैछ। उनको निधन वि.सं. २०३९ साउन ६ गते भएको थियो।

CP Hospital Dhangadhi

वि.सं. १९७१ भदौ २४ गते जन्मिएका कोइराला वि.सं. २०१५ सालमा सम्पन्न संसदीय निर्वाचनपछि वि.सं. २०१६ जेठमा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। आफ्नो कार्यकालमा उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि प्रभावशाली नेतृत्वदायी भूमिका निर्वाह गरे।

उनको सरकारद्वारा थालिएको बिर्ता उन्मूलन, तथा “जग्गा जोत्नेको हुनुपर्छ” भन्ने भूमिसुधार कार्यक्रम ऐतिहासिक रूपमा उल्लेखनीय छन्। यद्यपि, वि.सं. २०१७ पुस १ गते शाही नेपाली सेनाले जननिर्वाचित सरकार अपदस्थ गरेपछि कोइरालालगायत नेताहरूलाई सुन्दरीजलमा नजरबन्द गरिएको थियो।

nawajiwan
Attariya Hospital

पछि उनले आठ वर्ष भारतमा निर्वासित जीवन बिताए। निर्वासनबाट फर्केर वि.सं. २०३३ पुस १६ गते उनले राष्ट्रिय एकता र मेलमिलापको नीति सार्वजनिक गर्दै स्वदेश फर्किए। आज पनि उनको मेलमिलापको नीति नेपालको राजनीतिक सन्दर्भमा सान्दर्भिक मानिन्छ।

साहित्यमा पनि कोइरालाको अतुलनीय योगदान छ। उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’ र ‘बाबु, आमा र छोरा’ गरी छवटा उपन्यास प्रकाशित छन्, जसले नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादको नयाँ धरातल तयार गरेका छन्।

वीपी कोइरालाको स्मृति दिवसलाई प्रत्येक वर्ष उहाँको विचार, सिद्धान्त र योगदानको स्मरण तथा सम्मानस्वरूप विविध कार्यक्रमहरू आयोजना गरी मनाइँदै आएको छ।