
कार्तिक शुक्ल एकादशीका अवसरमा आज देशभर हरिबोधिनी एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। औषधीय गुणले भरिपूर्ण तुलसीको पूजा आराधना गर्दै भगवान् विष्णुको प्रतीक दामोदरसँग तुलसीको विवाह गराउने वैदिक सनातनी परम्परा छ। यस दिनलाई ठूलो एकादशी पनि भनिन्छ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास रहेकाले यसलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिएको हो। यससँगै चार महिनादेखि चल्दै आएको चतुर्मास व्रत तथा तुलसी पूजाको समापन हुन्छ। यही अवधिमा विवाह, व्रतबन्धलगायत माङ्गलिक कार्य नगर्ने परम्परा छ।
आज घरघरमा तुलसीको मठलाई गाईको गोबर र रातो माटोले लिपपोत गरी फूलमालाले सजाएर विष्णुको प्रतीकका रूपमा निगालो गाडी विधिपूर्वक पूजा गरिन्छ। तुलसीलाई भगवान् विष्णुको प्रिय मानिने भएकाले तुलसी विवाहको परम्परा बसेको धर्मशास्त्रविद्हरू बताउँछन्।
धार्मिक मान्यताअनुसार आजको दिन व्रत, स्नान, दान, जप र होम गर्दा पुण्य प्राप्त हुने तथा पापबाट मुक्ति मिल्ने विश्वास छ। व्रतालुहरूले अन्न नखाई सखरखण्ड, पिँडालु र वनतरुललगायत फलाहार गर्ने चलन छ।
तुलसीलाई धार्मिक रूपमा पवित्र मानिनुका साथै औषधीय गुणका कारण पनि महत्त्वपूर्ण वनस्पति मानिन्छ। यसको पात, डाँठ र फूल विभिन्न परम्परागत उपचारमा प्रयोग हुँदै आएको छ।
हरिबोधिनी एकादशीका अवसरमा काठमाडौँ उपत्यकाका चार नारायण—चाँगुनारायण, शेषनारायण, इचँगुनारायण र विशङ्खुनारायणलगायत देशभरका नारायण मन्दिरमा विशेष पूजा तथा मेला लाग्ने गर्दछ। बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला आयोजना हुँदैछ।






























