
सिगास/बैतडी – सामान्यतया बच्चा जन्मनासाथ उसले पहिले सास फेर्नुपर्छ। तर कहिलेकाहीँ त्यो सासको लागि युद्ध लड्नुपर्छ । यस्तै उदाहरण बैतडीको सिगास गाउँपालिका वडा नं.–४ स्थित आधारभूत स्वास्थ्य केन्द्र कान्धारमा कार्यरत अनमी जानकी पजाराले त्यस्तै एक युद्ध जितेकी छन् — बिना आधुनिक उपकरण, बिना चिकित्सक टोली, मात्र आफ्नो सीप, आत्मविश्वास र मानवियताको बलमा ।


तस्बिर:- जानकी पुजारा
साउन ८ गते राति ९:३३ बजे सिगास गाउँपालिका –४ पोटेऐनीकी लक्ष्मी धामीले नवजात शिशुलाई जन्म दिइन्। तर बच्चाले सास लिन सकेन । लक्ष्मी धामी प्रसूति पछि थकित थिइन्, शिशु निस्सासिएको थियो, आधारभूत स्वास्थ्य सेवा केन्द्रमा न अक्सिजन थियो, न सक्सन मेसिन, न उपयुक्त एम्बुबेग।

त्यस रात : ८ घण्टा लामो जीवनको संघर्ष
आधारभूत स्वास्थ्य सेवा केन्द्रमा उपकरण थिएन, तर मानवता थियो, सेवाभाव थियो, साहस थियो । अनमी जानकी पुजाराले हार मानिनन् । उनले शिशुलाई मुखबाट कृत्रिम सास दिन थालिन् । एकपटक होइन, दुईपटक होइन — ८ घण्टासम्म, लगातार रातभर । रातको ९:३३ बजेदेखि बिहान ४ बजेसम्म उनी एकोहोरो सास दिँदै शिशुलाई जीवन फिर्ता दिलाउने प्रयासमा जुटिन्। अन्ततः शिशुले सास फेर्न थाल्यो, र एक जीवन बच्यो । “एउटा सानो शरीर थियो, सास फेर्दैनथ्यो, तर मसँग केही साधन थिएन । मैले मुखबाटै सास दिन थाले, कहिले रोएँ, कहिले सम्झाएँ – बच्चा बाँच्नुपर्छ भनेर। अन्ततः ऊ बाँच्यो,” अनमी पुजाराले भनिन् ।
उपकरणको अभाव, ज्यान जोगाउने संघर्ष
सिगास – ४ स्थित कान्धारको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा न अक्सिजन छ, न सक्सन मेसिन। एम्बुबेग एउटा मात्र छ, त्यो पनि ठूला शिशुका लागि । यस्तो अवस्थामा जन्मिने नवजातलाई तत्काल उपचार दिन निकै गाह्रो पर्छ। “एम्बुबेगको साइज मिलेन, सक्सन मेसिन पनि थिएन । बच्चाले मुखभित्रको तरल पचाउन सकेको थिएन, त्यसैले सास फेर्न सकेन। मसँग मुखले स्वास दिने बाहेक कुनै उपाय थिएन,” पुजाराको यो भावनात्मक गहिरो भाव बोकेको आवाज हो ।
भिडियो भाइरल, चौतर्फी प्रशंसा
आधारभूत स्वास्थ्य सेवा केन्द्र कान्धारमा कार्यरत अनमी पूजाराले घटनाको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेपछि त्यो रातको संघर्ष जनमानसमा छ्यापछ्याप्ती फैलियो। सामाजिक सञ्जालमा उनलाई ‘महिला देवता’, ‘जिन्दगी दिने आमा’, ‘स्वास्थ्य क्षेत्रमा सच्चा नायक’ भन्ने प्रशंसा भइरहेको छ। देश–विदेशबाट फोन, सन्देश आउन थालेको उनले बताइन्।

अनमी पूजाराको मनभित्रको पीडा पनि छ
“बाँच्यो भनेर म खुसी त छु तर दुख पनि छ । यस्तो अवस्थामा कतिपटक हार मान्नुपरेको छ । स्वास्थ्यकर्मीको इच्छा भएर मात्रै हुँदैन, साधन पनि चाहिन्छ,” उनले भनिन्। उनको भनाइ छ — “हामीजस्ता दुर्गम ठाउँका स्वास्थ्यकर्मीहरू साधनविना काम गर्न बाध्य छौँ । यदि अक्सिजन, सक्सन मेसिन, उपयुक्त उपकरण भएको भए बच्चालाई अझ सजिलै बचाउन सकिन्थ्यो।”
अब आमा र बच्चा दुवै स्वस्थ
अहिले लक्ष्मी धामी र नवजात शिशु दुवैको अवस्था सामान्य छ । पुजारा आइतबार हिजो सुत्केरी भेटघाटका लागि घरमै पुगेकी थिइन् । “शिशु निस्सासिएको देख्दा आँखा रसाएको थियो । अहिले त्यो बच्चा हाँसिरहेको छ । म त्यही हाँसोको लागि काम गर्छु,” उनले भनिन् ।

तस्बिर:- जानकी पुजारा
जानकी पुजाराले देखाएको प्रतिबद्धता, सहनशीलता र सेवा भाव सबै स्वास्थ्यकर्मीका लागि आदर्श हो । कठिन परिस्थितिमा पनि हार नमान्ने साहस सबैमा आवश्यक छ । उपकरण अभावमा पनि सीप र ज्ञानको भरमा ज्यान जोगाउन सकिन्छ भन्ने सन्देश यस घटनाले दिन्छ । अनमीहरूलाई तालिम, अभ्यास र निर्णय क्षमतामा बलियो बनाइनु पर्छ। रातको समयमा ८ घण्टा कृत्रिम सास दिई जीवन बचाउनु केवल पेसागत होइन, मानवीय संवेदनाको उत्कृष्ट उदाहरण हो।
खासगरी सिगास गाउँपालिका जस्तो दुर्गम र संवेदनशील क्षेत्रका स्वास्थ्य संस्थामा आधारभूत उपकरणको तुरुन्त व्यवस्था आवश्यक देखिन्छ। अक्सिजन, सक्सन मेसिन, एम्बुब्याग जस्ता सामान्य उपकरण अभाव हुँदा ज्यान जोखिममा पर्न सक्छ । यस्तो अवस्थामा ज्यान जोगिनु चमत्कार जस्तै हुन्छ, तर यस्ता “चमत्कार” मा भर पर्नु हुँदैन। जानकी पुजारा जस्ता समर्पित जनशक्ति भए पनि उपकरण अभावले स्वास्थ्य सेवा कमजोर हुन्छ । नीति निर्माताले सडक सञ्जाल देखि अन्य पूर्वाधार सुधारमा गम्भीरता देखाउनुपर्ने देखिन्छ।
सम्बन्धित निकायले जानकी पुजारा जस्ता स्वास्थ्यकर्मीलाई सम्मान, प्रशंसा र प्रोत्साहन दिइनु आवश्यक छ, जसले अरूलाई पनि प्रेरित गर्न सक्छ। दुर्गममा बस्ने नागरिकहरू पनि उच्च गुणस्तरीय सेवा पाउने हकदार छन् । उपकरण, औषधि र जनशक्ति उपलब्ध गराउनु सरकारको कर्तव्य हो ।
































