
कञ्चनपुर: कृष्णपुर नगरपालिकाले अवैध रूपमा चित्तल पालन गरेको भन्ने उजुरीपछि डिभिजन वन कार्यालय कञ्चनपुरले छानबिन गर्न निर्देशन दिएको छ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले शुक्रबार वाणी सब डिभिजन वन कार्यालयलाई छानबिन गर्न पत्राचार गरेका हुन्। पत्रमा नगरपालिकाले चित्तलका लागि छुट्टै खोर निर्माण गरी दुई वटा चित्तल पालन गरिरहेको जानकारी आएकाले त्यसको यथार्थ बुझ्न प्रतिवेदन पेश गर्न भनिएको छ।

वन कार्यालयका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १५ अनुसार कुनै पनि व्यक्ति वा संस्थाले वन्यजन्तुको संरक्षण, प्रवर्धन वा पालन गर्नुअघि सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ।

तर कृष्णपुर नगरपालिकाले चित्तल पालनका लागि आवश्यक अनुमति लिएको छैन भन्ने आशंका गरिएको छ। ती चित्तल कहाँबाट ल्याइएको? के प्रयोजनका लागि पालन गरिएको? हालको अवस्था कस्तो छ? भन्ने विषयमा विस्तृत रूपमा छानबिन गर्न निर्देशन दिइएको वन कार्यालयले जनाएको छ।




















