
लघुवित्तको परिचय:- नेपाल राष्ट्र बैंकबाट घ वर्गको वित्तीय इजाजत प्राप्त विपन्न तथा न्यून आय भएका आर्थिक तथा सामाजिक रूपले पछाडि परेका जुन व्यक्तिसँग जोस जाँगर र सीप छ र आर्थिक अवस्था कमजोर छ त्यस्ता व्यक्ति तथा महिलाहरुलाई सदस्य बनाई तिनीहरुबाट मासिक नियमित रुपमा बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्नका लागि बिना धितो लघुकर्जा प्रदान गर्ने तथा आफ्ना सदस्य वा अन्य व्यक्तिलाई स्वीकार्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सानो बचत सानो लगानी सानो बीमा सहितको वित्तीय सेवा प्रदान गर्ने संस्था नै लघुवित्त वित्तीय संस्था हो। लघुवित्तको मुख्य कार्य भनेकै जनता बैंकमा होइन कि बैंक जनताको घरदैलोमा गई वित्तीय सेवा दिने संस्था नै लघुवित्त वित्तीय संस्था हुन्।

ग्रामीण अर्थतन्त्रमा लघुवित्त:- लघुवित्तले परम्परागत वित्तीय प्रणालीबाट विमुख जायजेथा धितो राख्न नसक्ने वर्गलाई र समुदायका त्यस्ता व्यक्ति जोसँग सीप र जोस जागर छ तर आर्थिक रुपले कमजोर छन् धितो राख्नको लागि जग्गा जमिन नभएका ठूलावाणिज्य, बैंक विकास बैंकले नपत्याएका त्यस्तावर्गलाई समेटी गरिब तथा विपन्न वर्गको घरदैलोमा पुगी वित्तीय सेवा प्रदान गर्नाले ग्रामीणअर्थतन्त्र चलयमान भएको पाइन्छ। लघुवित्तले गर्दा ग्रामीण भेगमा साहु महाजनले अनौपचारिक रुपमा ऋण दिँदा लिने चर्को ब्याज दर नियन्त्रण गर्न सफल भएको तथा स(सानो बचत संकलन गरी ग्रामीण पुजी निर्माण समेत योगदान पुर्याएको छ। हाम्रो देशको प्रमुख चुनौतीको रुपमा रहेको गरिबी र बेरोजगारीलाई घटाउनका साथै घरायसी कार्यम र चुलो चौकोमा मात्र सीमित महिला वर्गलाई समेटि वितmीय सेवा प्रदानका साथ – साथै उद्यमी र व्यवसाय सँगै आत्मनिर्भर बनाई एक सशक्त माध्यमका रूपमा लघुवित्तको महत्वपूर्ण योगदान रहँदै आएको छ। लघुवित्त वित्तीय संस्थाले गर्दा घरायसी काममा सीमित महिला वर्ग हरु आज आर्थिक क्रियाकलापमा संलग्न भई आत्मनिर्भर बनेका छन् ।
महिला सशक्तिकरणमा लघुवित्तको योगदान:- महिलाहरूलाई समान अवसर र अधिकार र स्रोतहरूको पहुँच प्रदान गर्दै उनीहरूको पूर्ण क्षमताको उपयोग सुनिश्चितका लागि नै महिला सशक्तिकरण हो। विकासको मूलधारमा पछाडि परेका महिलाहरूलाई अझै पनि नेपाली समाजमा प्रकृतिले बनाएका दुई जात महिला र पुरुषमध्ये महिलालाई सबै क्षेत्रमा दोस्रोदर्जामा राख्ने र पार्ने गरिन्छ। राजनीतिक दलको जस्तो नारा र भाषणमा मात्र होइन उनीहरुलाई आर्थिक रुपमा सामाजिक रुपमा उद्यमशील बनाई आर्थिक रुपमा सशक्त बनाउनु पर्दछ । महिला सशक्तिकरणको विषय अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा धेरै छलफल हुने गरेको विषय हो। गरिबी निवारण र लैङ्गिक समानताको आधारमा पनि यही नै हो। वित्तीय स्रोत तथा सम्पत्तिमाथिको स्वामित्व र निर्णय लिन पाउने अधिकार तथा सीप विकास र आयआर्जनको विशेष जोड महिलाहरूलाई दिनुपर्दछ ।

हामी जस्ता पितृसत्तात्मक मुलुक भएका देशहरूमा महिला सशक्तिकरणको सबल देखिँदैन। महिलाले जन्मेदेखि पालनपोषण शिक्षा दिक्षा लगायत जीवनमा हरेक चरणमा विभेदका कारणले निरन्तर रुपमा सङ्घर्ष गर्नुपर्छ। आधा धर्ती ओगटेका महिलाहरूको अवस्था नेपालमा सामाजिक आर्थिक राजनैतिक प्रशासनिक दृष्टिकोणले अब्बल छैन।
नेपाल जस्ता विकासमन्मुख राष्ट्रमा महिलालाई सामाजिक आर्थिक रूपमा सशक्त बनाई लघुवित्त कार्यक्रम उपयोगी रहन्छ। लघुवित्तले गरिबीको रेखामुनि रहेका विपन्न सीमान्तकृत वर्गका अतिरिक्त महिलाहरूलाई वित्तीय सेवाको पहुँचमा विस्तार गरी उनीहरूको जीविको आयर्जनमा सुधार ल्याउने कार्य गर्दै आएको छ। जबसम्म वित्तीय सेवाको पहुँच सिमान्तकृत वर्गका महिलाहरूमापुग्न सक्दैन। तबसम्म सामाजिक आर्थिक रुपान्तरण हुन सक्दैन महिलाको उल्लेखनीय सहभागिता र प्रतिनिधित्व बिना मुलुकको सन्तुलन एवं दिगो विकासको लक्ष्य हासिल गर्न सकिँदैन। त्यसैले राज्यका हरेक निकायमा महिलाहरूको उल्लेखनीय सहभागिता बढाउनुपर्दछ जुन आर्थिक रूपमा लघुवित्त कार्यक्रम प्रभावकारी मानिन्छ ।ग्रामीण बैंकिङ पद्धतिमा सञ्चालित लघुवित्त संस्थाले महिलालाइ लक्षित गरी महिलाहरूको समूह गठन गर्ने, तिनलार्ई ७ दिनसम्म अनिवार्य तालीम प्रदान गर्ने, तिनको घरआँगनमा वित्तीय तथा व्यावसायिक साक्षरताका कक्षा सञ्चालन गर्ने तथा व्यावहारिक अभ्यास गराउने गर्छ ।
बचत गर्न सिकाउने, कर्जा माग गर्ने, सदुपयोग गर्ने, र कर्जा साँवाब्याज किस्ताका बारेमा जानकारी गराउने, पदाधिकारी समूह सदस्यको कामकर्तव्य जिम्मेवारी बुझाउने, समग्रमा लघुवित्त सेवा सम्बन्धमा साक्षर गराएर गाउँघरमा नै बैंकिङ सेवा प्रदान गर्दै आएका छन् । यसरी घरदैलो गाउँघरमा नै लघुवित्त सेवा प्रदान गर्दा घर, गाउँबाट टाढा जान नपाउने, नभ्याउने महिला वर्गले सहज रूपमा बैंकिङ सेवा लिन सफल भएका छन् । आफ्नो नाममा बचत खाता खोली नियमित रूपमा आफू र आफ्नो परिवारको उज्ज्वल भविष्यका लागि सोच्न सक्ने भएका छन् । विनाधितो कर्जा लिएर पेशा सञ्चालन गरी स्वरोजगार भएका छन् र कतिले श्री मान् तथा छोराछोरीका लागि पेशा तथा व्यवसाय सञ्चालन गर्न रकम उपलब्ध गराएका छन् ।
यसरी परिवारको लागि बचत गर्ने, आफू र परिवार सदस्यका लागि आवश्यक पर्ने कर्जा उपलब्ध गराउने, उक्त कर्जाको किस्ता बुझाउने गर्नाले परिवारको आर्थिक कारोबारको मुख्य वाहक महिला नै हुन पुगेको पाइन्छ । यसले गर्दा लघुवित्त समूहका महिला सदस्यहरू आफैले घरगृहस्थीमै रहेर पनि आम्दानी वृद्धिका लागि सानोतिनो व्यवसाय सञ्चालन गर्ने, घरमा लोग्ने मानिसको अनुपस्थितिमा पूरै परिवारको आर्थिक कारोबार कुशल रूपमा सञ्चालन गर्न सक्षम हुनुका साथै आफूले शुरू गरेको व्यवसायमा आफू, आफ्नो परिवारका साथै अरू मानिसलार्ई पनि रोजगार दिन सफल भएको पाइन्छ । यसरी महिलाहरूको आम्दानी वृद्धिसँगै उनीहरू आर्थिक रूपमा सक्षम हुँदै गएका छन् । लघुवित्त सेवाको माध्यमबाट महिलाहरूमा वित्तीय तथा व्यावसायिक साक्षरता र वित्तीय अवस्थाको सुधार भएसँगै उनीहरूको आर्थिक तथा सामाजिक मानप्रतिष्ठा बढेर गएको छ ।
लघुवित्त सेवामार्फत महिलाहरूमा वित्तिय साक्षरताको स्तर बढेको छ । उनीहरू कसरी आय आर्जन गर्ने, आम्दानी वृद्धि गर्ने, कसरी बचत गर्ने, बचतको सुरक्षा कसरी गर्ने, कसरी लगानी गर्ने, कसरी तिर्ने जस्ता वित्तीय शिक्षाबाट उनीहरूमा आर्थिक सशक्तीकरण भएको मान्न सकिन्छ ।

यसरी उनीहरू समूहमार्फत आर्थिक कारोबारबाट सबल हुँदै समूह बैठकमा बसेर आफ्ना कुराहरू राख्न, समूहमा बोल्न सिक्दै गएका छन् । पालैपालो समूह, केन्द्रको नेतृत्व गर्नसमेत अभ्यस्त हुँदै गएका छन् । सानो समूह र धेरै समूह भएको केन्द्रको नेतृत्वको अभ्यास गर्ने क्रममा उनीहरू समूह केन्द्र हुँदै गाउँ जिल्ला र देशकै कुशल नेतृत्व गर्न सक्षम भएका छन् । यसबाट लघुवित्त सेवाका कारण महिलाहरूको नेतृत्व गर्ने क्षमतामा वृद्धि भएकोे स्पष्ट हुन्छ । आम्दानी बढ्नु, परिवारको नेतृत्व महिलाहरूमा हस्तान्तरण हुँदा बालबच्चाको शिक्षा, पालनपोषणमा सुधार र उपभोग ढाँचामा सकारात्मक परिवर्तन आएको छ ।
समान ज्यालाका लागि :- महिलाहरू सचेत भएका छन् । महिलाहरू आयआर्जनमा सक्रिय भएर परिवारको आम्दानी बढाउन थालेपछि लोग्ने मानिशहरूले महिला तथा छोरीप्रति गर्ने व्यवहारमा परिवर्तन आएको छ । महिलाहरूको आयमा परिवर्तनसँगै सुविधाका सामानहरूको उपभोग बढेर गएको छ । जसले गुणस्तरीय जीवनमा सहयोग पुगेको छ । महिलाहरूमा आत्मविश्वास बढेर गएको छ परिवारको आम्दानी बढाउन मैले पनि केही गर्नुपर्छ, स्वनिर्भर हुनुपर्छ, छोरीलार्ई पनि शिक्षा पूरा गराएर र आत्मनिर्भर बनाएर मात्रै विवाह गरिदिन पर्छ जस्ता चेतनाको अभिवृद्धि समाजमा भएको मान्न सकिन्छ । आर्थिक निर्णयहरूमा महिलाहरूको सहभागिता बढेको छ ।
पुरुषहरू महिलाहरूसँग आर्थिक कारोबार गर्नुअगाडि छलफल गर्न थालेका छन् जसबाट परिवारमा सुमधुर सम्बन्धको विकास भएको छ । महिलाहरूले लघुवित्त संस्थाबाट विनाधितो कर्जा लीयर पुरुषहरूलाई वैदेशिक रोजगारमा पठाएका छन् जसबाट परिवार तथा राष्ट्रकै आम्दानी बढेर गएको छ । हिजोसम्म बिहानसाँझ हातमुख जोड्न अप्ठ्यारोमा भएका परिवारहरू आज आर्थिक उन्नति गरेर सुखी जीवन बिताउन पाएका छन् ।
यसरी लघुवित्त सेवाको माध्यमबाट महिलाहरूमा वित्तीय तथा व्यावसायिक साक्षरता र वित्तीय अवस्थाको सुधारसँगै उनीहरूको आर्थिक तथा सामाजिक मानप्रतिष्ठा बढेर गएको छ । परिवार, समाज तथा देशमै महिला नेतृत्वको राम्रो विकास भएको छ । छोरीलार्ई पनि छोरासरह पालनपोषण, शिक्षा, स्वास्थ्य तथा पैतृक सम्पत्तिको हक स्थापित हुँदै गएको छ । कानून तथा कागजमा व्यवस्था भएको आफ्नो हकबमोजिम समान सहभागिताको अवसरका लागि लघुवित्तका सेवाग्राही महिलाहरू घरपरिवारबाट बाहिर आएर सडकदेखि सदनसम्म आवाज बुलन्द गर्न थालेका छन् ।
निष्कर्षमा:- अन्य महिलाको तुलनामा वित्तीय सेवाको पहुँचमा रहेका, वित्तीय तथा व्यावसायिक साक्षरताको ज्ञान पाएका महिला उद्यमी बनेर आयआर्जनमा सक्रिय भएकाले गर्दा उनीहरूको पारिवारिक तथा सामाजिक अवस्था सम्मानजनक भएको देखिएको छ । उनीहरूको परिवारमा लैंगिक भेदभाव शून्यप्राय रहेको छ । आयआर्जन गर्ने महिलाको नियन्त्रणमा पारिवारिक सम्पत्ति र शक्ति रहेको छ । आर्थिक अवस्थाको सुधारसँगै सामाजिक तथा राजनीतिक नेतृत्वमा उनीहरूको सहभागिता सम्मानजनक रहेको छ । महिला समानता र दिगो सशक्तीकरण गर्न वित्तीय सेवामा महिलाहरूको सहजै पहुँच आवश्यक छ । यसबाट महिलाहरूमा वित्तीय तथा व्यावसायिक साक्षरता वृद्धि गरी उद्यमी बनाई महिला सशक्तीकरण प्रभावकारी रूपमा गर्न सकिन्छ ।
यो कार्य अन्य वित्तीय संस्थाको तुलनामा लघुवित्त संस्थामार्फत नै प्रभावकारी भएकाले लघुवित्त सेवामा देखिएका केही कमजोरी र समस्याहरूलार्ई जतिसक्दो छिटो समाधान गरी लघुवित्त सेवाको विकास र विस्तार गर्न आवश्यक छ । सबै महिलालार्ई आयआर्जनका आर्थिक क्रियाकलापमा सक्रिय बनाई महिला रोजगारी, महिला स्वरोजगारी, महिला उद्यमीहरूको संख्या वृद्धि गरेर राष्ट्रिय उत्पादन सहजै वृद्धि गर्न सकिन्छ । राष्ट्रिय उत्पादन वृद्धि भएपछि आयात न्यून हुनेछ, निकासी वृद्धि हुनेछ जसले गर्दा देशले आर्थिक सम्पन्नता सहजै प्राप्त गर्नेछ । तसर्थ लघुवित्त सेवाबाट मात्रै विपन्न महिलालार्ई प्रभावकारी वित्तीय सेवा दिन सम्भव छ । विपन्न महिलाको आर्थिक सम्पन्नता वित्तीय सेवाको सहज पहुँचमा निर्भर छ । आर्थिक सम्पन्नता पछि मात्रै महिला नेतृत्व विकास सम्भव छ । महिला नेतृत्वबाट महिलासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन सम्भव छ । सबै महिलाको आर्थिक सम्पन्नता, महिला नेतृत्व, महिला कानूनको प्रभावकारी कार्यान्वयनबाट मात्रै लैंगिक समानता र दिगो महिला सशक्तीकरण प्राप्त हुनेछ ।
लेखक लघुवित्त क्षेत्रमा कार्यरत अनुभवप्राप्त कर्मचारी हुन ।
भानु साउद
अमरगढी –०९ डडेल्धुरा






























