अधिवक्ताहरूको चेतावनी : “बहुविवाहलाई कानुनी मान्यता दिनु नारीमाथिको दमन”

Image
Nisarga Hospital

वरिष्ठ अधिवक्ताहरूले बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको भनिएको प्रस्तावप्रति कडा आपत्ति जनाएका छन्।
सोमबार आयोजित साक्षात्कार कार्यक्रममा अधिवक्ताहरूले यस्तो कानुन नारीमाथिको अन्यायपूर्ण दमन र लोकतान्त्रिक मूल्य विपरीत हुने बताएका हुन्।

CP Hospital Dhangadhi
Attariya Hospital

कार्यक्रममा वरिष्ठ अधिवक्ता रामनारायण बिडारी, दिनेश त्रिपाठी र बालकृष्ण न्यौपाने सहभागी थिए।

“समाज भाँड्ने र महिलालाई दमन गर्ने कानुन नचल्ने”
वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले कुनै पनि कानुनले महिलाको अधिकार कुण्ठित गर्ने प्रकारको हुनु नहुने उल्लेख गर्दै भने:

“पुरुषले मायाप्रेममा पारेर गर्भाधान गराएछ भने त्यस्तो सम्बन्धलाई स्वास्नीको हैसियतमा मान्यता दिने कानुन बनाउनु भनेको महिलामाथि दमन गर्नु हो। यसले समाज भाँड्छ।”

“बहुविवाह सभ्य समाजमा कल्पनै गर्न सकिन्न”
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहुविवाहलाई मान्यता दिने प्रयासलाई **‘सामाजिक भ्रष्टाचार’**को संज्ञा दिँदै भने:

“यो लोकतान्त्रिक समाजमा कल्पनै गर्न नसकिने कुरा हो। बहुविवाह निन्दनीय छ। सभ्य समाजमा यसले ठाउँ पाउनुहुँदैन। कानुनको यस्तो मस्यौदा तयार हुँदैछ भन्ने सुनिएको छ, यसको चौतर्फी विरोध गरिनुपर्छ।”

“राजनीतिक दलको स्वार्थ हुनसक्छ”
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई कानुनी उन्मुक्ति दिन यस्तो कानुनी व्यवस्था ल्याउन खोजिएको आशंका व्यक्त गरे।
उनले यस्तो प्रस्तावप्रति सजगता र चनाखोपन आवश्यक रहेको उल्लेख गरे।

अधिवक्ताहरूको साझा धारणा अनुसार, बहुविवाहलाई कानुनी मान्यता दिनु संविधान, मानव अधिकार र लैंगिक समानताका सिद्धान्तहरूविरुद्ध जानु हो। उनीहरूले यस्तो प्रयास तत्काल रोक्न र समाजलाई सचेत बनाउन आह्वान गरेका छन्।

Advertize US