
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज देशभर सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ।

हाल बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भू–भागमा सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली छ। बागमती प्रदेशका केही, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थान तथा मधेससहित देशका बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

आज राति पनि मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको पूर्वानुमान गरिएको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।


















