
नेपाल राष्ट्र बैंकले चाँदी आयात गर्दा प्रतिपटक भुक्तानी गर्न सकिने सीमा बढाएको छ। केन्द्रीय बैंकले सीमा वृद्धि गरी अब पाँच लाख अमेरिकी डलर बराबर पु–याएको जनाएको छ।

यसअघिसम्म चाँदीका गरगहना, कलात्मक वस्तु तथा भाँडाकुँडा बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनका लागि आयात गर्ने उद्योगलाई प्रतिपटक तीन लाख अमेरिकी डलरसम्मको सुविधा मिल्दै आएको थियो। अब भने उनीहरूले पाँच लाख अमेरिकी डलर बराबर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा लिन सक्ने भएका छन्।
त्यसैगरी, अन्य सुनचाँदी व्यवसायीका लागि चाँदी आयात गर्दा प्रति पटक एक लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सुविधा प्रदान गरिने केन्द्रीय बैंकले जनाएको छ।


विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार, निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी, प्रतितपत्र (LC) वा विदेशबाट खरिद आदेश बराबरको कागजात पेस गर्नुपर्नेछ। साथै, सटही सुविधा दिने वाणिज्य बैंकहरूले हरेक पटक सुविधा दिने क्रममा अघिल्लो आयातको निर्यात तोकिएअनुसार भएको/नभएको यकिन गर्नुपर्ने व्यवस्था गरिएको छ।
यससँगै चाँदी व्यवसायीहरूले वाणिज्य बैंक बाहेक अन्य बैंकबाट सटही सुविधा लिई निर्यात भुक्तानी लिन बक्यौता नरहेको स्वघोषणा पनि गर्नुपर्ने व्यवस्था छ।

















