
कञ्चनपुरः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधरा–चाँदनी सुक्खा बन्दरगाहको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा हुने बताएका छन्।


निर्माणस्थल निरीक्षण गर्दै मन्त्री भण्डारीले भने, “दोधरा–चाँदनी सुक्खा बन्दरगाह लामो प्रतीक्षापछि सुरु गर्ने प्रक्रियामा हामी अगाडि बढेका छौँ। रु तीन अर्ब ८० करोडको लागतमा ठेक्का सम्झौता भइसकेको छ। प्रधानमन्त्रीको भारत भ्रमणकै क्रममा दुई देशका प्रधानमन्त्रीबाट शिलान्यास हुनेगरी तयारी भएको छ।”
उनका अनुसार नेपालले भारतका अन्य व्यापारिक बन्दरगाह प्रयोग गर्नका लागि पनि भारतीय पक्षसँग सकारात्मक छलफल अघि बढाएको छ। “पश्चिम नेपालको सीमासँग नजिक रहेको भारतको मुन्द्रा बन्दरगाह हाम्रो प्राथमिकतामा छ। यसबाट तेस्रो मुलुकसँगको व्यापार छोटो र सहज हुनेछ,” मन्त्री भण्डारीले स्पष्ट पारे।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने यो सुक्खा बन्दरगाहले सुदूरपश्चिम प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

















