
दार्चुलाको चीन नजिकको सीमावर्ती गाउँ तिङ्करमा तीन सातादेखि सम्पूर्ण टेलिफोन सेवा अवरुद्ध भएको छ। गत साउन २८ गतेको बाढीपछि टावरमा चट्याङ लागेर क्षति पुगेपछि नेपाल टेलिकमको २जी सेवा ठप्प भएको हो।

७० घरधुरी बसोबास गर्ने व्यास गाउँपालिका–१ तिङ्करका स्थानीयले फोन सेवा बन्द हुँदा ठूलो समस्या भोगिरहेका छन्। गाउँमा रहेको भिसेट फोन पनि लगातारको वर्षाका कारण प्रभावकारी रूपमा चल्न सकेको छैन।

स्थानीय आस्तिक तिङ्करीका अनुसार, टेलिफोन नचलेपछि बाहिरी सम्पर्क पूर्णरूपमा टुटेको छ। व्यास–१ का वडा सचिव विनोदसिंह बुढाथोकीले पनि साउन २८ यतादेखि गाउँमा सम्पर्क विहीनता भएको पुष्टि गरेका छन्। यहाँका बासिन्दा जेठमा सदरमुकाम खलङ्गाबाट तिङ्कर सरेका थिए र मङ्सिरमा पुनः खलङ्गा झर्ने गर्छन्।

नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङका अनुसार, टावरमा जडान भएको सफ्टवेयरमै समस्या देखिएको हुनसक्छ। उनले सेवाको अवरोधबारे केन्द्रीय कार्यालयलाई जानकारी गराइएको र समाधानका लागि प्रयास भइरहेको बताए।




















