
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०४६ सालपछि सार्वजनिक पद सम्हालेका व्यक्तिको सम्पत्ति छानबिन गर्न तत्काल उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताएका छन्। उनले आमनागरिकको भरोसामा पूर्वप्रधानन्यायाधिशको नेतृत्वमा भ्रष्टाचारका सबै काण्डको अनुसन्धान अघि बढाउन जोड दिएका छन्।

महामन्त्री थापाले विज्ञप्तिमार्फत संविधान संशोधनदेखि भ्रष्टाचार निवारण ऐन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत कानुनमा आवश्यक संशोधन गरी द्रुतगतिमा काम गर्नुपर्ने उल्लेख गरेका छन्।

उनले जेनजि पुस्ताको शान्तिपूर्ण आन्दोलनमा भएको अवाञ्छित र हिंसात्मक गतिविधि दुःखद् र अस्वाभाविक भएको बताए। गृहमन्त्री रमेश लेखकले आन्दोलनमा बल प्रयोग र दमनको जिम्मेवारी लिएर राजीनामा दिएको पनि उनले स्पष्ट पारे।

सामाजिक सञ्जाल बन्द गर्ने कदम असंवैधानिक भएको भन्दै थापाले यसलाई खारेज गर्न र व्यवस्थित निर्देशिकामा संशोधन गर्न सरकारसँग माग गरेका छन्। साथै, उनले जेनजि पुस्ताको आन्दोलनलाई संवाद र संयमका माध्यमबाट अघि बढाउन आग्रह गरेका छन्।































