दार्चुलाको अपिहिमाल मकरीगाड: सडकले बदल्यो व्यापारिक स्वरूप

Image
Nisarga Hospital

अपिहिमाल गाउँपालिका–५ स्थित मकरीगाड पछिल्ला वर्षमा आर्थिक रूपान्तरणको केन्द्र बन्दै गएको छ। करिब २० वर्षअघि केवल सामान्य होटल र पसलमात्र सीमित थियो भने अहिले दर्जनौँ पसल, होटल, गोदामसहित आधुनिक बजारको स्वरूप लिएको छ। विसं २०७६ मा मकरीगाड जलविद्युत् आयोजना सुरु भएपछि सडक विस्तारले यहाँको व्यापारमा ठूलो गति दिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

विगत २२ वर्षदेखि मकरीगाडमा होटल व्यवसाय गर्दै आएका धनसिंह लोथ्यालले भने, “पहिले केवल खाना र बास बस्नेमात्रै व्यापार थियो, अहिले बिहानदेखि साँझसम्म चहलपहल बढेको छ।” सडक विस्तारसँगै जिप र मालबाहक ट्रक नियमित रूपमा यहाँ पुग्न थालेका छन्। पहिले मार्मा–लटिनाथ–सेलविसा हुँदै हुने व्यापार अब मकरीगाडमा केन्द्रित भएको छ।

स्थानीय उत्पादन पनि बजारसम्म सहजै पुगेको छ। खण्डेश्वरी घुसाबाट स्थानीयले हरियो साग, दूध–दही र तरकारी मकरीगाडमा बिक्री गर्ने अवस्था बनेको छ। तराईबाट खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री यहाँ सहजै उपलब्ध हुने भएको छ। व्यापारी धनसिंह जागरीका अनुसार, सडक स्तरोन्नति भएमा मूल्य अझै सस्तो र व्यापार अझै सक्रिय हुने सम्भावना छ।

सडक विस्तारले पहाड र तराईबीचको दोहोरो व्यापार सहज बनाएको छ। तराईबाट समान ल्याउने ट्रकले पहाडको आलु, राज्मा, भटमास, कोदो, स्याउ र जडीबुटी धनगढीसम्म पुर्‍याउन थालेका छन्। यसले अपिहिमाल उत्पादनको बजार विस्तारमा ठूलो योगदान दिएको छ।

हाल पनि सडक सुधार र भाडा समायोजन आवश्यक देखिन्छ। व्यापारिक गतिविधि बढ्दै गएसँगै मकरीगाड पूर्ण रूपमा अपिहिमालको आर्थिक र व्यापारिक केन्द्र बन्ने सम्भावना देखिएको छ। सडक माथि उक्लिँदै गर्दा व्यापार पनि माथि सर्ने सम्भावना छ, र मकरीगाडबाट अगाडिको क्षेत्रहरूमा व्यापार विस्तार हुने अपेक्षा गरिएको छ।