धनगढीका निजी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, न्यून तलब र श्रम शोषणविरुद्ध आवाज बुलन्द

Image
Nisarga Hospital

धनगढीका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू न्यूनतम पारिश्रमिक नपाएको र श्रम शोषण बढेको भन्दै आन्दोलनमा उत्रिएका छन्। उनीहरूका अनुसार, सरकारले तोकेको सुविधा र पारिश्रमिक लागू नगरी अस्पतालहरूले आफ्नै मनपरी दरमा तलब निर्धारण गरेका छन्। स्वास्थ्य मन्त्रालयले २०८१ मंसिर २७ गते पारिश्रमिक, अतिरिक्त भत्ता, करार सम्झौता र तलब बैंकमार्फत दिन निर्देशन दिएको थियो। तर, धेरै अस्पतालहरूले ती निर्देशनको पालना नगरेको आन्दोलनकारीहरूको भनाइ छ।

CP Hospital Dhangadhi

कर्मचारीहरूले अस्पतालहरूमा प्रमाणपत्र रोक्ने, नगदै तलब दिने र अनुभव प्रमाणपत्र नदिने जस्ता अनियमितता भएको आरोप लगाएका छन्। नर्सिङ पढ्न करिब १५ लाख खर्च हुने तर सुरुको तलब ९ देखि १३ हजार मात्र पाउने अवस्थाले उनीहरू आक्रोशित भएका छन्।

Attariya Hospital

“भ्वाइस अफ प्राइभेट हेल्थ प्रोफेसनल्स” नामक समूहमार्फत उनीहरूले आन्दोलन थालेका छन्। उनीहरूका मागमा न्यूनतम तलब लागू, पारदर्शी प्रणाली र अस्पताल अनुगमनकाे व्यवस्था मुख्य छन्।

nawajiwan

तर, प्राइभेट हस्पिटल एसोसिएसन (अफिन) सुदूरपश्चिमका अध्यक्ष तीर्थराज पन्तले भने अस्पतालहरूले श्रम ऐनअनुसारको पारिश्रमिक दिइरहेको दाबी गरेका छन्। उनले भने, “अस्पताल सञ्चालन खर्च धेरै भएकाले सरकारले तोकेको दरमा तलब दिन कठिन भएको हो।”