
डडेल्धुराको अमरगढी–८ मा अवस्थित उग्रतारामा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मेला (देहिजाँत) कार्तिक १९ गते लाग्ने भएको छ। उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजवहादुर साँकीले शनिबार मेला व्यवस्थापन र विभिन्न ठाउँबाट आउने श्रद्धालु तथा दर्शनार्थीहरूको व्यवस्थापनका लागि छलफल गरिएको जानकारी दिएका छन्।

सहरी र ग्रामीण क्षेत्रका साथै भारतका विभिन्न स्थानबाट समेत श्रद्धालुहरू मेलामा सहभागी हुने परम्परा छ। मेलालाई स्थानीयहरू ‘देहिजाँत’को रूपमा चिन्ने गरेका छन्।
साँकीका अनुसार, कार्तिक १८ गते राती रतेडी आयोजना हुनेछ। यस अवसरमा सेलागाउँ, जिलोडा, छचोडा, खनमडा र दुमडा गाउँबाट चौलो लिएर दर्शनार्थी बिहानको झिसमिसे उज्यालोमा मन्दिरमा पुग्ने परम्परा छ। रतेडीपछि कार्तिक १९ गते दिउँसो उग्रतारा मेला वा देहिजाँत हुने परम्परा चलिआएको छ।




समितिले मेलामा आउने ठूलो भीड व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको बताउँदै श्रद्धालुहरूलाई सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको छ। मेला धार्मिक आस्था मात्र नभई स्थानीय पर्यटन र सांस्कृतिक पहिचानको रूपमा समेत महत्वपूर्ण मानिन्छ।
उग्रतारा मेला सुदूरपश्चिमका सबैभन्दा ठूलो मेलाहरूमा पर्ने गरेको छ र यसले क्षेत्रको सांस्कृतिक र सामाजिक एकता प्रगाढ बनाउने काम गर्दै आएको छ।



































