आमाको सम्झनामा आँखा दान घोषणा गर्ने युवा नेता लोकराज पाण्डे: “आमाले संसार देखाइदिनुभयो, अब म अरूलाई देखाउने छु

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरिया निवासी नेपाली कांग्रेसका युवा नेता लोक राज पाण्डे (आगो) ले मरणोपरान्त आफ्ना आँखा दान गर्ने घोषणा गरेका छन्। शनिबार आफ्नी आमाको वार्षिक पुण्य तिथिको अवसरमा आयोजित कार्यक्रमका क्रममा उनले आँखा दान गर्ने प्रतिवद्धता सार्वजनिक गरेका हुन्।

CP Hospital Dhangadhi

पाण्डेले नेपाल नेत्र ज्योति संघ, कैलालीमार्फत आँखा दान गर्ने इच्छा व्यक्त गर्दै भने, “आमाले मलाई संसार देखाइदिनुभयो, अब मेरा आँखाबाट अरू कसैको जीवनमा उज्यालो ल्याउन चाहन्छु।” उनका अनुसार, मरणोपरान्त उनका आँखाले दृष्टिविहीन व्यक्तिलाई दृष्टि दिन सकोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको हो।

त्यस क्रममा उनले आफ्नो शरीर समेत भविष्यमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई दान गर्ने तयारी गरिरहेको जानकारी दिए। परिवारसँग सल्लाह भइरहेको उल्लेख गर्दै उनले भने, “विश्वविद्यालयमा एमबिबिएस अध्ययन र ६ सय शय्याको अस्पताल सञ्चालनमा आएपछि औपचारिक घोषणा गर्नेछु।”

कार्यक्रममा गेटा आँखा अस्पतालका नेत्र अधिकृत देव राज पनेरुले पाण्डेको आँखा दानको इच्छापत्र पढेर सुनाए। उनले भने, “एक जनाको आँखा दानले दुई जनाको दृष्टि फर्काउन सकिन्छ, यो जीवनकै सबैभन्दा अर्थपूर्ण दान हो।”

आमाको सम्झनामा गरिएको यो मानवीय निर्णयले पाण्डेलाई स्थानीय युवाबीच प्रेरणाको स्रोत बनाएको छ। सहभागीहरूले उनको निर्णयलाई ‘साँच्चै उज्यालो सोच’ भन्दै प्रशंसा गरेका थिए।