
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कैलालीमा तयारीका काम तीव्र गतिमा भइरहेका छन्। नयाँ मतदाता नामावली दर्ता, सार्ने र सच्याउने कामसँगै मतदान स्थलहरूको अनुगमन र सामग्री अद्यावधिक भइरहेको निमित्त प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले जानकारी दिए। उनका अनुसार हालसम्म गौरीगंगा, गोदावरी, घोडाघोडी, लम्की चुहा र टीकापुरका अधिकांश मतदान स्थलको अनुगमन सम्पन्न भइसकेको छ।

भट्टका अनुसार कात्तिक ३० गतेसम्म मतदाता नामावली दर्ता खुला रहनेछ। असोज १० गतेदेखि सुरु भएको नाम दर्ता अभियानमा हालसम्म १ हजार २६९ जनाले दर्ता गराइसकेका छन्। तीमध्ये जिल्ला भित्रका १ हजार ४७ जना र बाहिरका २२२ जना रहेका छन्। आयोगले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बायोमेट्रिक र नाम सच्याउने काम गर्दै आएको छ।

कैलालीमा करिब ७ हजार नयाँ मतदाता थप हुने अनुमान गरिएको छ। हाल पाँच निर्वाचन क्षेत्रमा विभाजित जिल्लामा २३७ मतदान स्थल र ६२९ मतदान केन्द्र तोकिएका छन्। जनगणना अनुसार ९ लाखभन्दा बढी जनसङ्ख्या भएको जिल्लामा हाल करिब ५ लाख ३७ हजार मतदाता छन्।

































