अत्तरियाका नेता एमाले पार्टी त्याग्दै नयाँ यात्रा : “दलदलमा फसेको देशलाई अब स्वतन्त्र सेवा चाहिन्छ”

Image
Nisarga Hospital

अत्तरियाः नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य गोकर्ण भट्टले पार्टी पद र सदस्यता दुवै त्यागेका छन्। उनले अब स्वतन्त्र रूपमा समाजसेवामा लाग्ने घोषणा गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै भट्टले पार्टीभित्र बढ्दो गुटबन्दी, अवसरवाद, धनवाद, डनवाद र यौनवादप्रति तीव्र असन्तोष प्रकट गर्दै “अब एमालेमा रहन नसक्ने” बताएका हुन्।

CP Hospital Dhangadhi

उनले लेखेका छन्, “इमानदार कार्यकर्ता र नेताको मूल्याङ्कन हुने परम्परा हराउँदै गएको छ। सत्ता र स्वार्थका लागि दलहरू चरम अवसरवादमा डुबेका छन्।”

भट्टले २०७५ सालमा नेकपा एकीकरणपछि गोदावरी नगर कमिटी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। पार्टी विभाजनपछि पनि एमालेमै रहँदै २०७९ सालको स्थानीय तह निर्वाचनमा नगर प्रमुखका उम्मेदवार बनेका थिए।

nawajiwan

राजनीतिक यात्राको स्मरण गर्दै उनले लेखेका छन्, “बाल्यकालदेखि संघर्षपूर्ण जीवन बिताएँ। विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रामा कैयौं पटक गिरफ्तारी, यातना र व्यक्तिगत क्षति सहनुपर्‍यो, तर न्याय र परिवर्तनको विश्वास कहिल्यै हराएन।”

Attariya Hospital

भट्टले आफू अब “स्वतन्त्र नागरिकको रूपमा समाज र देशका लागि निष्ठापूर्वक सेवा गर्ने” बताए। उनका अनुसार देश अहिले “दुई ठूला दलको अपवित्र गठबन्धन र भ्रष्टाचारको दलदलमा फसेको” छ, र त्यसबाट निस्कन “नयाँ सोच र वैचारिक शुद्धताको आन्दोलन आवश्यक” छ।

उनको यो निर्णयले सुदूरपश्चिमको एमाले राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ।