
रमेश बहादुर सिंह /बझाङः बझाङ को साइपाल गाउँपालिकामा लामो समयपछि गाउँपालिकाले पहिलो पटक स्थायी प्रमुख प्रशासकीय अधिकृत (प्र.प्र.अ) पाएको छ। यसअघि गाउँपालिकाको सम्पूर्ण प्रशासनिक कार्य निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएको थियो। अब स्थायी प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिसँगै गाउँपालिकाको प्रशासनिक कामकाजमा स्थायित्व र कार्यक्षमतामा वृद्धि हुने अपेक्षा गरिएको छ।

गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दाबीच खुशीको माहोल छाएको छ। गाउँपालिका प्रशासनका एक अधिकारीका अनुसार, “अब गाउँपालिकाको काम अझ व्यवस्थित र द्रुत गतिमा अघि बढ्नेछ। हामी उहाँसँग काम गर्दै उहाँको ज्ञान, सीप र अनुभवबाट सिक्ने अवसर पाएका छौं।”

साइपाल गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई सफल कार्यकालको शुभकामना दिँदै उहाँको नेतृत्वमा गाउँपालिकाको सेवा प्रवाह अझ जनमुखी, पारदर्शी र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ।

































