
अत्तरियाः कैलालीको अत्तरियामा नेपाल प्रिमियर लिग (NPL) ट्रफी प्रदर्शनी सँगै सुदूरपश्चिम रोयल्स टिमलाई सम्मान गरिएको छ। गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले टिमका खेलाडी र व्यवस्थापन टोलीलाई खादा अर्पण गर्दै जितको शुभकामना व्यक्त गरे।

कार्यक्रममा प्रदर्शित NPL ट्रफीले दर्शकको उत्साह थपेको थियो। नगर प्रमुख भट्टले सुदूरपश्चिमको गौरवका रूपमा टिमले राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
समारोहमा स्थानीय जनप्रतिनिधि, खेलकुदप्रेमी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले सुदूरपश्चिमको प्रतिभा अब राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चम्किने विश्वास व्यक्त गरे।

सुदूरपश्चिम रोयल्सको ट्रफी टुर सफलतापूर्वक सम्पन्न
सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको ट्रफी टूर सफलतापूर्वक सम्पन्न गरेको छ । सुदूरपश्चिम रोयल्सले हजारौं समर्थकको साथमा सुदूरपश्चिम प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमा ट्रफी टूर गरेको हो ।
दुई दिनसम्म चलेको ट्रफी टूरको पहिलो दिन खड्क चोकबाट सुरु भई चिसापानी पुल, लम्की चोक, घोडाघोडी ताल, दोधारा चाँदनी पुल हुँदै महेन्द्रनगरमा सम्पन्न भएको थियो । दोस्रो दिन शनिबार ट्रफीलाई बिहान धनगढीस्थित सिद्धार्थ बैंकबाट सुरु गरियो । त्यसपछि चौराह चोक हुँदै कभर्डहल पुगेर अत्तरिया चोकमा प्रदर्शन गरी ट्रफी टूर सम्पन्न भएको थियो ।

शुक्रबार धनगढीबाट नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले ट्रफी अनावरण गरेका थिए । ट्रफी टूरमा सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमटा, ब्रान्ड एम्बेसडर दिपक विष्ट, तथा खेलाडीहरू नरेन साउद, इशान पाण्डे र विनोद भण्डारी सहभागी थिए ।
ट्रफी टूरको क्रममा कलाकार चक्र भाम र डीएनयक्सले अफिसियल एन्थम र फ्यान एन्थमको प्रस्तुति पनि दिएका थिए । सुदूरपश्चिम रोयल्सको टोलीः दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन ।






























