
बैतडीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मातहतका निकायलाई योजना कार्यान्वयन कार्यतालिका निर्माण गरी व्यवस्थित रूपमा काम गर्न निर्देशन दिनुभएको छ। शुक्रबार बैतडीमा आयोजित पालिका प्रमुख, संघ, प्रदेश तथा स्थानीय कार्यालय प्रमुख र सुरक्षा निकायसँगको छलफलमा मुख्यमन्त्री शाहले आवश्यक नभएको क्षेत्रमा बजेट विनियोजन र सम्पन्न योजनामा पनि काम भइरहेको गुनासो आएपछि स्पष्ट कार्ययोजना बनाउने आग्रह गर्नुभयो।


मुख्यमन्त्री शाहले भन्नुभयो, “आवश्यकता नभएको क्षेत्रमा बजेट प्रयोग नगर्नुहोस्, त्यस्तो योजना कार्यान्वयन हुँदैन। यसका लागि कार्यतालिका अनिवार्य छ।” उनले उपभोक्ता समितिमार्फत काम नगर्ने, ठेक्का सम्झौतामार्फत विकास निर्माणलाई प्राथमिकता दिने र पालिका महासंघलाई स्पष्ट मापदण्ड बनाएर आवश्यक क्षेत्रमै उपभोक्ता समितिको प्रयोग सुनिश्चित गर्न निर्देशन दिनुभयो।

उहाँले प्रदेश कानुनमा योजना कार्यान्वयनको स्पष्ट मापदण्ड समेटिने व्यवस्था गर्न समेत जोड दिनुभयो। यस निर्देशनले सुदूरपश्चिममा योजना कार्यान्वयनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
































