
नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’बीच ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गरी एकता घोषणा गरिएको छ।

बुधबार पेरिसडँडामा आयोजित विशेष कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र अभियानका संयोजक भीम रावलले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति अनुसार आगामी ६ महिनाभित्र राष्ट्रिय एकता महाधिवेशन आयोजना गरिने, सामूहिक नेतृत्व प्रणाली लागू गरिने र भीम रावलको संगठनात्मक जिम्मेवारी चाँडै टुंग्याइने उल्लेख गरिएको छ।


कार्यक्रममा नेताहरूले एकतालाई नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्जीवनका रूपमा व्याख्या गर्दै देशमा स्थायित्व, सुशासन र समृद्धिका लागि संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
यस एकतासँगै विभाजित कम्युनिस्ट धार पुनः एकढिक्का बन्दै राजनीतिक वृत्तमा नयाँ सन्देश गएको विश्लेषण गरिएको छ।
































