
अत्तरियाः गोदावरी नगरपालिका–८ ,९ र २ का विभिन्न विकास योजनाको स्थलगत अनुगमन सम्पन्न भएको छ। संघीय शहरी विकास कार्यान्वयन इकाई तथा भवन निर्माण कार्यालय धनगढी–कैलालीबाट स्वीकृत योजनाहरू कार्यान्वयनका लागि जनप्रतिनिधि र प्राविधिक टोली संयुक्त रूपमा निरीक्षण गरेका हुन ।

अनुगमनका प्रमुख योजनामा वडा नं. ९ को मुर्कटी–सेहरी–गेटा सडक नाली निर्माणसहित कालोपत्रे, क्याम्पस रोडदेखि धन्चौरी–सेहरी–मुर्केट्टे सडक कालोपत्रे, वडा नं. ५ हुँदै वडा नं. ८ सम्मको मुख्य सडक नालीसहित कालोपत्रे, वडा नं. ८ को तल्लो जोनापुरदेखि माथिल्लो जोनापुर हुँदै समैजी मावि जाने बाटो तथा वडा नं. १ र २ को अत्तरिया बजार क्षेत्रको नाली–ढल विकास समावेश छन्।


१) मुर्कट्टी सेहरी गेटा सडक नाली सहित कालोपत्रे वडा नं ९
२) क्याम्पस रोड देखि धन्चौरी, सेहरी, मुर्केट्टे सडक नाली सहित कालो पत्रे
३) वडा नं ५ नगर हुँदै वडा नं ८ सम्म को सडक नाली कालोपत्रे सडक नाली
४) वडा नं ८ को तल्लो जोनापुर देखि माथिल्लो जोनापुर हुँदै समैजि मावि जाने बाटो कालोपत्रे ( राष्ट्रिय सभा संसद विकास कोषको सहयोग)
५) गोदावरी नगरपालिका वडा नं १ र २ मा नाली ढल विकास अत्तरिया बजार क्षेत्रमा ।

अनुगमन टोलीमा गोदावरी नगर प्रमुख बिरेन्द्र भट्ट, वडा नं. ९ का अध्यक्ष प्रेमलाल राना, क्षेत्रीय शहरी विकास आयोजनाका इन्जिनियर सरोज देउवा, गोदावरी नगरपालिकाका इन्जिनियर जनक खड्का, वडा सदस्य उद्धव भट्टराई सहितको समूह सहभागी थियो।


नगर प्रमुख बिरेन्द्र भट्टले अत्तरिया बजार क्षेत्रमा वर्षेनी देखिँदै आएको डुबान र सरसफाइसम्बन्धी समस्या समाधानका लागि दीर्घकालीन योजना कार्यान्वयनको चरण सुरु भइसकेको जानकारी दिए। उनका अनुसार, “अत्तरिया बजारलाई सुरक्षित, व्यवस्थित र आधुनिक बनाउने हाम्रो प्राथमिकता हो। अहिलेको अनुगमनले योजनाहरू छिट्टै पूर्ण गतिमा अघि बढ्ने संकेत दिएको छ।”

नगर प्रमुख भट्टले कैलाली क्षेत्र नं. ४ का सांसद तथा सुदूरपश्चिम प्रदेश कांग्रेस सभापति बिरबहादुर बलायरप्रति कृतज्ञता व्यक्त गर्दै, “गोदावरी क्षेत्रका विकास योजनालाई प्राथमिकतामा राखी निरन्तर सहयोग गरिरहनु भएकोमा धन्यवाद छ,” भने।

त्यस्तै, राष्ट्रिय सभा–संसद विकास कोषबाट नारायण दत्त भट्टको पहलमा प्राप्त ३ करोडको बजेट गोदावरी नगरको पूर्वाधार विकासका लागि महत्वपूर्ण योगदान भएको बताए।

उनले अत्तरिया बजारको ढल निकास र सडक सुधारका लागि संघीय शहरी विकास कार्यान्वयन इकाईसँग संयुक्त प्राविधिक छलफल भइसकेको बताउँदै, “आगामी दिनमा योजनालाई द्रुत गतिमा अघि बढाइनेछ,” स्पष्ट पारे।

यससँगै, गोदावरी नगरपालिका अब पूर्वाधार विकासको नयाँ चरणमा प्रवेश गरेको स्थानीयवासीहरूले बताए।

































