
सुदूरपश्चिम विश्वविद्यालयको विज्ञान संकाय (बीएससी) आठौँ सेमेस्टरको नतिजामा कैलाली बहुमुखी क्याम्पसले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। क्याम्पसका पाँच विद्यार्थीले समग्र ४.०० जीपीए प्राप्त गर्दै विश्वविद्यालयभरि नै सर्वोत्कृष्ट नतिजा हात पारेका छन्।

भौतिकशास्त्र समूह (Physics Group) बाट सुवास गिरी, विनोद साउद, निराजन चौधरी र अभिषेक जोशी, र जीव विज्ञान समूह (Biology Group) बाट भूमिका चौधरीले उत्कृष्ट ४ जीपीए ल्याउँदै क्याम्पसको प्रतिष्ठा उच्च बनाएका हुन्।
त्यस्तै, वनस्पति विज्ञान (Botany) विषयमा आरति भट्टले ३.५१ जीपीए सहित उत्कृष्ट स्थान हासिल गरेकी छन्। विज्ञान संकायकी विभागीय प्रमुख डा. रमा देवी जोशीका अनुसार, “प्राध्यापक र विद्यार्थीहरूको कडा परिश्रमकै परिणामस्वरूप क्याम्पसले यति उत्कृष्ट नतिजा निकाल्न सफल भएको हो।”


क्याम्पस प्रमुख सह–प्राध्यापक डा. लोकबहादुर बिष्टले पनि नतिजाले सम्पूर्ण क्याम्पस परिवारलाई उत्साहित बनाएको बताउँदै भने, “सेमेस्टर प्रणाली लागू भएपछि शिक्षण–अध्ययनको गुणस्तर वृद्धि गर्न निरन्तर लगनशीलता अपनाएका थियौँ, आजको नतिजाले त्यसको प्रतिफल दिएको छ।”
उत्कृष्ट विद्यार्थीहरूलाई बधाई दिँदै उनले भविष्यमा पनि यस्तै स्तरको शैक्षिक उपलब्धि कायम रहने आशा व्यक्त गरे।
सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तह पूरा गर्ने यो पहिलो ब्याच हो, जसले क्याम्पसको शैक्षिक क्षमताको स्तर स्पष्ट रूपमा उजागर गरेको छ।
































