सुदूरपश्चिममा हलगोरु पाल्ने कृषकलाई प्रदेश सरकारले दिनेछ पाँच हजार, प्रदेशभरी १,९५० किसानलाई प्रोत्साहन हुने

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले हलगोरु पालन गर्ने कृषकलाई लक्षित गर्दै प्रोत्साहन कार्यक्रम चालु आर्थिक वर्षदेखि नौवटै जिल्लामा सञ्चालन गर्ने भएको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी राजकुमार झाका अनुसार कार्यक्रमका लागि ९७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

CP Hospital Dhangadhi

यो योजनाअन्तर्गत प्रदेशभरि १,९५० किसानलाई प्रतिकिसान ५ हजार रुपैयाँ प्रोत्साहन उपलब्ध गराइनेछ। बजेट सबै जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पठाइइकन कार्यक्रम कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको झाले जानकारी दिए। उनका अनुसार, कैलालीका लागि १५ लाख, कञ्चनपुरका लागि १२ लाख ५० हजार तथा बाँकी सात जिल्लाका लागि प्रतिजिल्ला १० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

प्रोत्साहन पाउनका लागि किसानले हलगोरु वा राँगा पालेको, कृषि कार्य गर्दै आएको तथा तराई जिल्लामा गोरुगाडा (डल्लब) र हलो भएको प्रमाणित हुनुपर्नेछ।

मन्त्रालयका अनुसार, प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रम रहेका स्थानीय तहलाई प्रथम प्राथमिकता दिइनेछ। अन्य जिल्लामा भने विकट स्थानीय तहलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन हुनेछ।

किसानलाई दिइने प्रोत्साहन रकम सीधै बैंक खातामार्फत भुक्तानी गरिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।