
कैलालीको गोदावरीमा १५औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंसिर १६ गतेदेखि १९ गतेसम्म आयोजना हुने भएको छ। सोमबार बसेको गोदावरी नगरपालिका राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले प्रतियोगिता मिति तय गरेको हो।

समितिले प्रतियोगिता गोदावरी नगरपालिका–२ स्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा सञ्चालन गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले जानकारी दिनुभयो। प्रतियोगिता तयारीका लागि शिक्षा शाखाले नगरपालिकाभरका सामुदायिक र संस्थागत विद्यालयलाई मंसिर १० भित्र सहभागी विद्यार्थी र खेलकुद शिक्षकको विवरण उपलब्ध गराउन आग्रह गरेको छ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, दौड, उफ्रने र फ्याँक्ने खेल (हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिङ थ्रो) र मार्शल आर्ट (कराँते, तेक्वान्दो, उसु) समावेश रहने जनाइएको छ। आयोजकले प्रतियोगिता मार्फत विद्यार्थीमा खेलकुदप्रति उत्साह र सशक्त प्रतिस्पर्धाको भावना विकास गर्ने लक्ष्य राखेको छ।



































