
अत्तरिया: दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबीच जनशक्ति व्यवस्थापन तथा शिक्षक तालिमको क्षेत्रमा सहकार्य गर्न समझदारी पत्र (MOU) मा हस्ताक्षर गरिएको छ। उक्त समझदारी पत्रमा दुबै संस्थाले शिक्षक उत्पादन, तालिम कार्यक्रम सञ्चालन र शैक्षिक सुधारका गतिविधिहरूमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

सम्झौता अनुसार, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले दुर्गालक्ष्मी नमुना माविका शिक्षकहरूलाई आवश्यक तालिम (Updated Teacher / Trainee Teacher) प्रदान गर्नेछ। यसले विद्यालयमा गुणस्तरीय शिक्षण सुनिश्चित गर्न, शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न र विद्यार्थीहरूको शैक्षिक सुधारमा योगदान पुर्याउने लक्ष्य राखेको छ।

समझदारी पत्रमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख तथा दुर्गालक्ष्मी नमुना माविका प्रधानाध्यापकले हस्ताक्षर गरी औपचारिक रूपमा सहकार्यको सुरुवात गरेका छन्। उनीहरूले दुई संस्थाबीचको सहकार्यले आगामी वर्षमा शिक्षा र जनशक्ति व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्।

विद्यालय र क्याम्पसबीचको यो पहलले शिक्षक तालिम कार्यक्रमलाई व्यवस्थित गर्दै गुणस्तरीय शिक्षण अभ्यास र पेशागत विकासलाई प्राथमिकता दिनेछ। यस सम्झौताका माध्यमबाट विद्यार्थी र शिक्षक दुवैको विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

सम्झौतामा हस्ताक्षर गरेका प्रतिनिधिहरूले शिक्षा क्षेत्रको विकास र गुणस्तरीय शिक्षक उत्पादनमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



























